वीरेन्द्र भट्ट, अत्तरियाः सुदूरपश्चिममा पदको दुरुपयोग गरेर सेवाग्राहीबाट घुस खाने कर्मचारीको संख्या वर्षेनि बढ्दो छ । हिजो मात्रै डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव ७ लाख ३१ हजार घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
यादवले घुसवापत लिएको नगद ७ लाख ३१ हजार रूपैयाँ समेत बरामद गरिएको छ । यादवलाई अख्तियारको टोलीले धनगढीस्थित डिभिजन वन कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
वरिष्ठ वन अधिकृत यादवले चुरे गाउँपालिका–६ स्थित ग्वाँसी सामुदायिक वनको घाटगद्दी गरेको काठको छोडपूर्जीको लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेकाे थियो ।
त्यसपछि आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित यादवलाई नियन्त्रणमा लिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घुससहित समातिएका थिए कृषि प्राविधिक
गत वर्षको असारमा मात्र घुस रकमसहित २ जना कृषि प्राविधिक पक्राउ परेका थिए । ४ लाख घुससहित दार्चुलाको शैल्यशिखर नगरपालिकाका २ जना कृषि प्राविधिक पक्राउ परेका थिए ।
४ लाख १२ हजार घुस रकमसहित सो नगरपालिकामा कार्यरत कृषि प्राविधिक रंगेहात पक्राउ परेका थिए । कृषि शाखा प्रमुख मोहनसिंह धामी र कृषि प्राविधिक सहायक अशोकसिंह धामी पक्राउ परेका हुन् ।
दुबै जनालाई घुसरकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट नियन्त्रणमा लिएको हाे । उनीहरुले कृषक समूहको बिल भुक्तानीका क्रममा घुस रकम मागेका थिए ।
राष्ट्रपति चुरे कार्यक्रमका अधिकृत घूस लिँदालिँदै पक्राउ
कैलालीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईका एक अधिकृत पनि गत वर्ष घूस लिँदालिँदै पक्राउ परेका थिए ।
जिल्लाको लम्कीस्थित इकाईका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई घूस लिएको १ लाख २० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात समातेको हाे ।
उनले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घूस माग गरेका थिए । त्यसपछि उनलाई नेपालगञ्ज–२ बाट सो रकमसहित आयोगले नियन्त्रणमा लिएको हाे ।
यातायातका प्रमुखसहित ३ जना कर्मचारी घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालिन निमित्त कार्यालय प्रमुखसहित तीन जना कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चलनपुरबाट खटिएको अख्तियारको टोलीले तत्कालिन कार्यालय प्रमुख एवं शाखा अधिकृत गम्भीरसिँह विष्ट, शाखा अधिकृत (सातौं तह) भुवन जोशी र अधिकृत (छैठौं तह) जयराज कारीगरलाई नियन्त्रणमा लिएको थियो ।
विक्री गरेको गाडी नामसारी गरेवापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा तत्कालिन डीएसपी प्रेमबहादुर बस्नेत नेतृत्वको टोलीले नगद १ लाख ६१ हजार १ सय रुपैयाँ घुससहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । यी त केबल प्रतिनिधि उदाहरण मात्र हुन् ।
यसरी घुस लिने कर्मचारीको संख्या सुदूरपश्चिममा वर्षेनि बढ्दो क्रममा छ । फरक यति हो कति पक्राउ पर्छन कति पर्दैनन् । तर सेवाग्राहीलाई अनावश्यक दुःख दिएर कुनै न कुनै बाहनामा पदको दुरुपयोग गरेर घुस माग्ने प्रवृत्ति मौलाउँदै गएको कतिपय सेवाग्राहीको गुनासो छ ।








प्रतिक्रिया दिनुहोस