धनगढी: नेटवर्किङ गरेर करोडौं ठगी गरेको आरोपमा सुदूपश्चिमका ८ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्काई ड्रिम ईन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिका सञ्चालक तथा कर्मचारी गरी ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्काई ड्रिम ईन्टरपेनर्स प्रालिका सञ्चालक डोटीको सायल गाउँपालिका–२ का २६ वर्षीय नरेश बोहरा, व्यवस्थापक तथा कर्मचारीहरू दार्चुला महाकाली नगरपालिका–४ का २४ वर्षीय कृष्ण धामी, अछाम कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही र २२ वर्षीय रबिन्द्र शाही रहेका छन् ।
त्यस्तै, प्रहरीले दोधारा-चाँदनी नगरपालिका–२ की २२ वर्षीया मनिषा सिंह, बेल्डाडी गाउँपालिका–१ की २१ वर्षीया निर्मला धामी, बैतडीको सिगास गाउँपालिका–६ की २२ वर्षीया सुनिता साउँद र डोटीको बडिकेदार गाउँपालिका–४ की २२ वर्षीया कमला चिमालालाई पनि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार वीरेन्द्रनगर नगरपालिका–३, मुलपानी चोकमा कार्यालय स्थापना गरी उक्त गिरोहले विभिन्न जिल्लाका युवायुवतीलाई ठगीको सिकार बनाएको हो ।
प्रहरीका अनुसार, कम्पनीले वार्षिक २० हजार रुपैयाँ तिरेपछि सीप सिकाउने, खाना बस्नको व्यवस्था मिलाउने र आकर्षक तलबसहितको रोजगारी दिने भन्दै प्रलोभन देखाउने गरेको थियो । नयाँ सदस्य बनाएबापत प्रतिव्यक्ति ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म जम्मा गर्न लगाइएको थियो ।
यसरी स्काई ड्रिम ईन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिले पीडितहरूबाट करोडौं रकम ठगी गरेको भन्दै जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।








प्रतिक्रिया दिनुहोस