दार्चुलाः दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना पक्राउ परेका छन् । नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी पक्राउ परेका हुन ।
जनकसिंह नगर प्रमुख विजयसिंह धामीका छोरा समेत हुन्। जिल्ला अदालतबाट अनुमति लिएर बुधवार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावतले बताए ।
उनीहरूमाथि जालसाजी र सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान भइरहेको छ । कृषि शाखा प्रमुख विष्ट र भेटेरिनरी प्राविधिक धामीले मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीलाई मृत देखाएर झूटा कागजात तयार गरेका थिए ।
समूहको निष्क्रिय बैंक खाता सक्रिय बनाएर ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको रकम निकाल्ने तयारी भइरहेको अवस्थामा घटना बाहिर आएको हो ।
कृषि शाखा प्रमुख विष्टले ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखामा पत्राचार गरी समूहको खाताबाट जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराको हस्ताक्षर मान्य गरिदिन अनुरोध गरेका थिए ।








प्रतिक्रिया दिनुहोस