अत्तरियाः ९ दिनको अवधिमा मात्र सुदूरपश्चिमको अख्तियारमा ६० वटा उजुरी दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा साउन महिना सुरु भएसँगै उजुरी दर्ता हुनेक्रम बढेको हो ।
विशेष गरी स्थानीय तहसँग सम्वन्धित उजुरीको संख्या सबैभन्दा उच्च देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका शाखा अधिकृत एवं सूचना अधिकारी चेतराज भट्टका अनुसार स्रोतअनुसार उजुरीको संख्या यही साउन ९ गतेसम्म ६० वटा दर्ता भएका छन् ।
साउन महिनाको १ गतेदेखि ९ गतेसम्म हुलाक सेवाबाट १३, लिखित रुपमा ३०, इमेलमार्फत १४ र टेलिफोनबाट तीनवटा उजुरी दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक वर्ष सुरु भएको ९ दिनको अवधिमा उक्त संख्यामा अनियमितता विरुद्धका उजुरी दर्ता भएको अभिलेख छ ।
सबैभन्दा बढी स्थानीय तहसँग सम्वन्धित, त्यसपछि प्रदेश र तेस्रो नम्बरमा संघीय सरकारले सञ्चालन गरेका योजनासँग सम्वन्धित उजुरीको संख्या अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दर्ता भएको पाइएको छ।








प्रतिक्रिया दिनुहोस