अत्तरिया: कैलालीको अत्तरियामा अब नेपाली सेनाले १७.५ हेक्टर वन क्षेत्र उपभोग गर्दै छ । यतिबेला इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले भोगचलन गर्दै आएको जग्गामा सेनाले तारबार नै गर्ने तयारी छ ।
सरकारले गरेको निर्णयका आधारमा भोगाधिकार प्राप्त भइसकेकाले उक्त जग्गामा तारबार गरेर संरक्षण गर्ने नेपाली सेनाको दाबी छ । इलाका प्रहरी कार्यालय मालाखेतीले भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई पत्र पठाउँदै आफूले भोगचलन गर्दै आएको जग्गा सेनाले लिन खोजेको भन्दै सहयोग मागेको छ ।
तर नेपाली सेनाको भवानी दल गण तेघरी ब्यारेकले भौतिक संरचना बनेको बाहेक भोगाधिकार प्राप्त गरेको जग्गा प्रहरीले छाड्नुपर्ने बताउँदै आएको छ । साविकको मालाखेती गाविस-७ अत्तरिया पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फको मोटरेबल कच्ची बाटो, पश्चिम दीपायल जाने पक्की सडक, दक्षिण महेन्द्र राजमार्ग र उत्तरतर्फको जंगल क्षेत्रको राष्ट्रिय वन क्षेत्रको १७.५ हेक्टर जग्गा नेपाली सेनाले भोगाधिकार गर्ने निर्णय सरकारले गरेको पाइएको छ ।
नेपाली सेनाले लिन खोजेको स्थानमा करिब एक सयवटा घर निर्माण भइसकेका छन् भने अत्तरिया बसपार्कको जग्गा पनि त्यसैमा पर्छ । वन विभागले २८ वैशाख २०६२ मा जिल्ला वन कार्यालय कैलालीलाई जग्गाको भोगाधिकार सेनालाई दिइएको पत्र पठाएको थियो ।
अहिले नेपाली सेनाको भवानी दल गण तेघरीले घेरबार गरिरहेको जग्गा राष्ट्रिय वनका रूपमा थियो । राष्ट्रिय वन भएकै कारण संरक्षण हुन भने सकेको थिएन । योसँगै जोडिएको दुर्गालक्ष्मी महिला सामुदायिक वन भने स्थानीयले २०५३ सालदेखि नै संरक्षण गर्दै आएका थिए ।
पछि उक्त राष्ट्रिय वनलाई पनि दुर्गालक्ष्मी सामुदायिक वनले नै संरक्षण गर्न थालेको थियो । निजी र सार्वजनिक रूपमा भोगचलनमा रहेको जग्गा नेपाली सेनाले छाड्नुपर्ने स्थानीयको माग छ । इलाका प्रहरी कार्यालय मालाखेती, प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, अत्तरिया बसपार्क र त्यो क्षेत्रमा बनेका करिब ६० घरधुरीको बसोबास पनि सेनाकै भोगाधिकार प्राप्त जग्गामा रहेको छ ।
अत्तरिया बसपार्कलाई प्रदेशस्तरीय बनाउने स्थानीय सरकारको योजनामा पनि सेनाको कदमले धक्का पुग्ने देखिएको छ । नेपाली सेनाको भवानी दल गण तेघरीले भोगाधिकार प्राप्त गरेको क्षेत्रमा गत असोजदेखि नै चेकपोष्ट खडा गरेर संरक्षण दिइरहेको छ ।








प्रतिक्रिया दिनुहोस