वीरेन्द्र भट्ट, अत्तरिया: गत साता कैलालीको चुरे गाउँपालिका स्थित खानीडाडामा एउटा मन छुने दृष्य देखियो । हातमा झोला र काधमा लालाबाला ।
लाउलाउ र खाउखाउ उमेरका एक दम्पती, ती दम्पतीका ३ र डेढ बर्षीया दुई छोरी । साथमा थिइन् एक महिला । ती महिलाको मन निकै उदास थियो । उनीभन्दा बढी उदास देखिन्थे ती दम्पती ।
खानीडाडाको त्यो सानो बजारमा ती दम्पती भेट्न अरू केही व्यक्ति पनि जम्मा भएका थिए । ती दम्पतीका छोरीहरू रोइरहेका थए । ती दम्पतीका आखा पनि विस्तारै रसाउन थाले ।
संगै रहेकी महिलाका आँखाबाट तपतप आँसु झर्न थाल्यो । ३ र डेढ बर्षीया बालिका दम्पतीको काखी छोड्न मानिरहेका थिएनन् । त्यहाँ उपस्थित सबैका आँखा रसाइरहेका थिए ।
माहोल निकै उदास बनिरहेको बेला उता डडेलधुराबाट जिप आइपुग्यो । सो जिपमा फटाफट सामान राख्न थालियो । ती दम्पतीका आँखा पहिले भन्दा झनै रसाउन थाले । दुई सना छोरी जोरजोरले चिच्याउन थाले । अनि परदेशिन लागेकी आमाको धैर्यको बाध टुट्यो ।
लालाबाला जबरजस्ती सासू आमाको जिम्मा छोडेर जिपको कुनामा रून थालिन् । सासू आमा दुबै नातिनी च्यापेर आँखाभरी आँसु बगाउन थालिन् । संगै परदिसिन लागेको छोराले पनि आँसु चाहेर पनि आँसु थाम्न सकेन । वरिपरि जम्मा भएकाहरू पनि निकै भावुक बन्न पुगे ।
साना नानीहरूको रूदारूदा आँखा रातो भइसकेको थियोे । यहीँ समयमा जिप अघि बढ्यो । दम्पती रूदै थिए । जिप ढल्कियो । यता सासूआमालाई ती कोपिला मुनारूहरूलाइ शान्त पार्न निकै कठिन भइरहेको थियो । संगै आफू पनि रोइरहेकी थिइन् ।
ती नानीहरूलाई भोलि आमा बाबा आउने भन्दै चकलेट र विस्कुट दिएर फकाउन थालिन् । तर दुबै नानी जोरजोरले रून छोडेनन् । गाउँघरमा बसेर गुजरा चलाउन मुश्किल भएपछि छोरा-बुुुुुहारी कामको खोजीमा भारतको बेङ्लोर जानू परेको उनले दुखेसो पोखिन् ।
बुहारी पहिलो पटक परदेश गएकी उनले बताइन् । यो त केबल प्रतिनिधी उदाहरण मात्र हो । यसरी घरमा लालाबाला छोडेर परदेश जानेको संख्या एकपछि अर्को बढ्दो छ । लोकतन्त्रको नाममा गाउँघरमा सिंहहरू आए तर दरबार अझै आइपुगेको छैन् ।
नेताहरू मोटाए तर जनता यसरी कलिला मुनाहरूलाइ छोडेर विदेशिन बाध्य छन् । देश बनाउछौं भनेर गफ दिनेरुबाट नै देश डुब्न लागेको परदेश जानेहरूको दुखेसो छ ।








प्रतिक्रिया दिनुहोस