अत्तरिया: सुदूरपश्चिम प्रदेशभित्र पछिल्लो समय अवैध हातहतियारको प्रयोग बढिरहेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरीले चालू आर्थिक वर्षको हालसम्म अवैध हातहतियारसहित ६ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।
उनीहरुको साथबाट भरुवा बन्दुक र पेस्तोल बरामद गरेको छ । भारतमा हुने चोरीका घटनामा समेत ९ जनालाई पक्राउ गरेर २८ लाख नगद र २३८.८७० मिलीग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी प्रमुखले प्रदेशमा सबै खालका अपराधिक गतिविधि नियन्त्रणका लागि सक्रियता बढाइएको बताए ।
लागुऔषध मुद्दामा ७ सय जना पक्राउ
कैलालीमा आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म मात्र करिब ७ सय जना लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । प्रदेशमा लागुऔषधको अवस्था भयावह बन्न थालेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयसँगको समन्वयमा जिल्लाहरुमा दुर्व्यशनीविरुद्धको अभियानलाई सक्रिय पूर्वक अगाडि बढाएको जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयले बितेको एक महिनामा मात्र लागुऔषध दुर्व्यसनीमा संलग्न १२१ जनालाई पक्राउ गरेको छ । जसमा ७४ मुद्दा दर्ता गरिएकोमा ११९ पुरुष र दुई जना महिला रहेका छन् ।
सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बरबहादुर विश्वकर्माले पक्राउ परेकाहरुबाट लागुऔषधका रुपमा प्रयोग गरिने गाँजा, चरेस र हिरोईन बरामद गरिएको बताए ।
उनकाअनुसार सबैभन्दा बढी ३९१.५५३६ ग्राम खैरो हेरोइन, १७६.३९३ चरेस, १६.५२० ग्राम गाँजा बरामद गरिएको छ । डीआईजी विश्वकर्माले समुदायमा लागुऔषध दुर्व्यसनी भयावह रुपमा फैलिरहेको बताए । ‘समुदायमा लागुऔषध दुर्व्यसनी डरलाग्दो रुपमा फैलिरहेको छ ।
दुर्व्यसनीमा लागेकाहरुलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउने, समुदायमा सचेतना फैलाउने जस्ता क्रियाकलाप प्रहरीले गरिरहेको छ,’ विश्वकर्माले भने, ‘जिल्लाहरुमा लागुऔषधविरुद्ध विशेष खालका अभियानहरु नै चलाइएको छन् ।’
खुला सीमा नाकाका कारण पनि सुदूरपश्चिममा लागुऔषध दुर्व्यसनीले विकराल रुप लिएको दाबी गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व डीआईजी विश्वकर्माले सम्हालेपछि भारतबाट अवैध रुपमा हुने चोरी, तस्करी नियन्त्रणमा समेत प्रहरीले सक्रियता देखाएको छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार गत २४ वैशाखदेखि असार पहिलो हप्तासम्म अवैध रुपमा भित्र्याइएको दुई करोड १५ लाख ६३ हजार बराबरको सामान बरामद गरिएको छ ।
अवैध सामान ओसारपसारमा संलग्न रहेका ८ जनालाई पनि पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ । यो अवधिमा १४५ जना फरार प्रतिवादी पक्राउ गरी २२ वर्ष दुई महिना १२ दिन कैद र एक करोड १८ हजार जरिबाना रकम असुल्ने प्रक्रिया पनि अघि बढाइएको छ ।








प्रतिक्रिया दिनुहोस