अत्तरिया: जिल्ला कारागार कैलाली कैदीबन्दीका लागि असुरक्षित बन्न थालेको छ । २०८२ असार २ गते मात्र बैंकिङ कसुरमा सजाय पाएका हरिश सिंह पालीको मृत्यु भयाे । साे घटनामा प्रहरी र कारागार प्रशासनको भूमिकामाथि नै प्रश्न उठ्याे ।
मृतकको शरीरमा चोटपटक र निलडाम देखिएपछि आफन्तले योजनाबद्ध हत्या भएको आरोप लगाए । बैंकिङ कसुरमा सजाय पाएका पालीको कारागार चलान भएको भोलिपल्टै मृत्यु भएपछि प्रहरी र जेल प्रशासनको भूमिकामाथि प्रश्न उठेको हाे ।
बैंकिङ कसुर मुद्दा दिने नेपाल प्रहरीका सई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत हुनु, घटनास्थलको सीसीटीभी फुटेज नहुनु र मृतकको शरीरभरी कुटपिट गरिएको जस्तो देखिनुले मृतकका परिवारले प्रहरीमाथि नै प्रश्न उठाएका थिए ।
२०८० असारमा कैलाली कारागारको अनुगमनका क्रममा पाँच सय भारतीय रुपैयाँका दुई सय ८ नोट फेला पारिएको थियाे । तालिम प्राप्त कुकुर समेतको टोलीले जिल्ला कारागारको अनुगमन गर्दा थुप्रै कैफित कारागारभित्र फेला परेको थियोे ।
कारागारभित्र विभिन्न कम्पनीका १५ थान मोबाइल, ३३ थान चार्जर र भारतीय रुपैयाँसम्म फेला परेको थियाे । कारागारमा अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेको विषय पनि बाहिर आएको थियोे । त्यतिबेला कैदीबन्दीको आक्रमणबाट प्रहरी सहायक निरीक्षक भूपेन्द्र सामन्त घाइते भएका थिए ।
कैलाली कारागारभित्र लागुऔषध र रक्सी सेवनदेखि जुवातास खेलाउने तथा अबैध असुलीका गतिविधि बढेको खबर बेलाबखत बाहिर आउने गरेको छ । कारागार प्रशासन र प्रहरीले कैदीबन्दीहरूसँग हिमचिम बढाएका कारण अवैध कारोवारले प्रसय पाएको कतिपयकाे तर्क छ ।
कैदीबन्दीमाथि शासन चलाउन शक्ति संघर्ष
कारागारभित्रको आन्तरिक प्रशासन व्यवस्थापन गर्न कैदीबन्दी बिचबाटै चौकीदार, मुल नाइके, नाइके, सह-नाइके, शिक्षक नाइकेको जिम्मेवारी बन्दीहरूलाई नै दिइने गरिन्छ । यस्तै, कारागारको क्यान्टिन, मासु पसल, किराना पसल, सुर्ती पसल, फ्रिज सेवा र मेस चलाउने जिम्मेवारी पनि एक वर्षका लागि साउनमै प्रदान गरिन्छ । यी सबै जिम्मेवारी हत्याएर एक वर्षसम्म बन्दीहरूमाथि शासन चलाउन कैदीबन्दीका फरकफरक समूहबिच शक्ति संघर्ष हुने गरेको पाइएकाे छ ।
कैलाली कारागार अबैध धन्दाको अखडा
कारागारभित्र खानेपानीको बोतल, कोक तथा अन्य चिसो पेय पदार्थको बोतलमा रक्सी भरेर छिराउने गिरोह यसअघि सक्रिय थियो । यस्तै, घरबाट पकाएर लगेको खसीको मासुको हड्डीभित्र ब्राउन सुगर लग्ने, मोवाइल भित्र्याउने, जुवातास खेलाउने र बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म चौकीदारहरूलाई बाहिर घुमफेर गर्न दिने जस्ता कार्य यसअघि नभएको हाेइन ।
१५० जना कैदीबन्दी राख्ने क्षमता भएको कैलाली कारागारमा हाल तीन गुणा बढी बन्दी छन् । १९९७ सालमा निर्माण भएको कैलाली कारागारको जीर्ण भवनमा क्षमताभन्दा निकै बढी बन्दी राखिएको छ । तर, सुदूरपश्चिमका पहाडी जिल्लाका कारागारबाट कैलाली कारागार सरुवा भएर आउने बन्दीको संख्या उच्च छ ।
कारागार प्रशासनकै कर्मचारी विशेषगरी निमित्त जेलरहरूले विगतदेखि नै भनसुन र राजनीतिक पहुँचको आधारमा पहाडबाट कैलाली जेल सरुवा हुन सहजीकरण गर्छन् । पहाडी जिल्लाका जेलबाट बिरामी भएको र उपचार गराउने भन्दै जेल सार्ने खेल हुने गरेको छ ।
यसरी हुन्छ बन्दीहरूको समूह निर्माण
कारागार भित्रका कैदीबन्दीहरूले समूह निर्माण गरेर शक्तिका लागि संघर्ष गर्ने गरेको बताइएको छ । समान किसिमको अपराध र अभियोग लागेकाहरूले फरकफरक समूह निर्माण गर्ने गरेका छन् । समूह बनाउँदा एकै क्षेत्र र भूगोलका बन्दीहरूको गठबन्धन बन्ने गर्छ । ती समूहले शक्तिमा आएर एक वर्षसम्म बन्दीहरूमाथि शासन गर्न कारागारभित्र झैझगडा र कुटपिट हुने गरेको छ ।
कैलालीको लम्कीका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा पक्राउ परेका १६ जनाको समूह कैलाली कारागारमा थियो। त्यो समूहले आगामी वर्ष शक्ति हत्याउन शक्तिमा रहेको समूहसँग पटकपटक झगडा र कुटपिट गरेको विषय पनि यसअघि बाहिर आएकाे थियो ।
केके हुन्छ कैलाली कारागारभित्र ?
कैलाली कारागारमा रहेका चौकीदार निस्फिक्री बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म बाहिर घुम्न पाउँथे । यस्तै, कैदीबन्दीले सट्टेबाजी, लागुऔषध प्रयोग, जुवातास, मिटर व्याज र अवैध असुली धन्दा चलाउँदै आएका थिए ।
रक्सी, मोबाइल फोन, तास, लागुऔषधको प्रवेश कारागारमा सजिलै हुने गरेको थियो । कारागार प्रशासनले यसअघि कैदीबन्दीहरूबाट २० थान स्मार्ट मोबाइल फेला पारेको थियो । योभन्दा अगाडि आउटडोर कैदीबन्दीसँग १३ थान स्मार्ट फोन बरामद गरिएको थियो ।
केही समय अगाडि कैदीबन्दीहरूले लागुऔषध प्रयोग गरिरहेको भिडियो सार्वजनिक भएको थियो भने पटकपट कैदीबन्दी बिच झगडा भएका समाचार आएका थिए ।
कैलाली कारागारमा एक खिल्ली चुरोट २५ रुपैयाँमा बिक्री हुने गरेको विषय बाहिर आएपछि त्यसकाुे समाचार नै बनेको थियो । यस्तै, मदिरा र लागुऔषधको प्रयोग र कारोबार गर्न कैदीबन्दीलाई सहज वातावरण निर्माण गरिएको थियो । कैलाली कारागारभित्र विहिबार मात्र पुनः कैदीबन्दीबीच झडप भएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए । घटनाको विस्तृत विवरण आउन भने बाकी नै छ ।








प्रतिक्रिया दिनुहोस