अत्तरिया: कुनै बेला सानो चोकमा मात्र सीमित कैलालीको अत्तरिया बजारको मुहार फेरिएको छ । यो फेरिनुमा भने विविध पक्षहरू जोडिएका छन् । सुदूरपश्चिमलाई हालको संघीय राजधानी काठमाडौंसँग जोड्ने कर्णाली पुल, नगर विकासको अवधारणा, बढ्दो बसाइँसराइ र शहरीकरण लगायत पक्ष जोडिएका छन् ।
२०५१ सालमा कर्णाली नदीमाथि पुल बन्यो, त्यो यहाँको विकासको पहिलो खुड्किलो बन्न पुगेको देखिन्छ । २०५१ सालमा मूलतः कर्णाली नदीमा पुल बनेदेखि मात्र अत्तरिया क्षेत्रको विकास भएको हो । त्योभन्दा अघि राज्यको मूलप्रवाहमा जोडिएको थिएन । त्यसपछि नै बजार विस्तारले तीव्रता पाएको यहाँका बुढापाकाहरू बताउँछन्।
अत्तरियामा पहिलो पटक बसोबास गर्ने र जग्गा भोगचलन गर्नेमा डोटीको जोरायलकी लक्ष्मी देवी पन्तको परिवार थियो । पन्त परिवार यहाँको जमिनदार थियो । २०२१ सालमा भूमिसुधार लागू भएपछि मात्र यो क्षेत्रमा बस्ती बस्न थाल्यो । २०२८ सालमा पहाडमा विकराल भोकमरी भएपछि साविक मालाखेती गाविसमा पर्ने बजार क्षेत्र वरपर ठूलो संख्यामा मानिसहरू बसाइँ सरी आए । त्यो बेला उनीहरू जंगल फडानी गरेर बस्ती बसेका थिए ।
२०२१ सालमा खड्कबहादुर सिंह भूमिसुधार मन्त्री बनेपछि कैलाली र कञ्चनपुरमा जग्गाको नापी भएको थियो । हदबन्दीभन्दा बढी जग्गा आफ्ना नजिककाहरूको नाममा राख्ने उद्देश्यका साथ सरकारले सबै जग्गा जफत गरेको देखिन्छ । तर सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला भने नागरिकका पक्षमा आएको थियो ।
त्यसपछि एकपछि अर्को गर्दै डोटी, अछाम, बाजुरा, डडेल्धुरा लगायत जिल्लाबाट मानिसहरू बसोबास गर्न यो क्षेत्रमा झर्न थालेका थिए । अहिले यहाँ पूर्व झापादेखि पश्चिम दार्चुलासम्मका मानिसको बसोबास छ ।
तत्कालीन सरकारले २०४२ सालमा नगर विकास समितिको अवधारणा लागू गरेपछि अत्तरियाले स्वस्फूर्त र क्रमिक परिवर्तनको लय समात्यो । चारैतिर जंगलले घेरिएको अत्तरिया बजार त्यतिन्जेलसम्म पनि सानो चोकमै सीमित जस्तो थियो ।
२०२१ पछि विभिन्न जिल्लाबाट अत्तरिया बसाइँसराइ गर्ने क्रम बढे पनि सशस्त्र द्वन्द्वपछि मात्र विकासले गति लिएको स्थानीय बताउँछन् । २०४०/४२ सालपछि मात्र यो क्षेत्रमा किराना पसल खोल्ने र खुद्रा सामान बिक्री गर्ने चलन सुरु भएको थियो । त्यसले नै विस्तारै ठूलो रूप लिन पुग्दा अहिले अत्तरिया ठूलो शहरका रूपमा विकास भएको छ ।
शान्ति प्रक्रियापछि अत्तरियाको विकासले थप तीव्रता पाएको स्थानीय राम साउदले बताए । ‘२०६४ पछि भएको विकास लोभलाग्दो छ । उद्योगधन्दा, व्यापार, व्यवसाय र बस्ती विकासले त्यो पछि नै गति लिएको थियो’ साउदले भने, ‘अहिले त यो ठाउँ सबैको रोजाइको केन्द्र बनेको छ ।
सुदूरपश्चिम मात्र होइन यहाँ ७७ वटै जिल्लाका मानिसको बसोबास छ ।’ यसका साथै गोदावरीमा २०७५ साल असोज १२ गते तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सभा बैठकले स्थायी राजधानी घोषणा गरेपछि अत्तरियाको महत्त्व झनै बढेको स्थानीय बताउँछन्।








प्रतिक्रिया दिनुहोस