धनगढीः कैलालीमा घाइते भएका ३५ जना कैदीलाई उपचारपछि अस्पतालले डिस्चार्ज गरेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले बताए ।
गत शुक्रवार राति कैदीबिच भएको हिंसात्मक झडपमा परी घाइते भएका ४८ जना कैदीबन्दीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तीमध्ये धनगढीका ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो । गम्भीर घाइते तीन जनालाई भने थप उपचारका लागि काठमाडौँ रेफर गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।
बाँकी ४४ मध्ये ३५ जना निको भई डिस्चार्ज भइसकेका र ९ जना डिस्चार्ज हुन बाँकी रहेको उनले बताए । हड्डीमा चोटपटक लागेका पाँच घाइते कैदीबन्दीको अस्पतालले शल्यक्रिया गरेको थियो । शल्यक्रिया गरिएकासहित कोरोना अस्पतालमा राखिएकामध्ये चार जना डिस्चार्ज हुन बाँकी रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
अस्पतालले डिस्चार्ज गरेका कैदीबन्दीलाई कैलाली कारागारमा पुनस्र्थापना गर्न सकिएको छैन । डिस्चार्ज भएका घाइते कैदीबन्दीलाई कैलाली कारागारमै पुनस्र्थापना गर्न कठिन भएपछि उनीहरूलाई सेती प्रादेशिक अस्पतालमै राखिएको छ । अस्पतालमा राखिएका कैदीबन्दीको सुरक्षा सशस्त्र प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले बताए ।
कारागार घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । कारागार घटनापछि तत्कालीन जेलर वसन्त खत्री र प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको सरुवा भएको छ । कारागारको नेतृत्व जेलर भुसाल र प्रशासनको नेतृत्व कृष्णप्रसाद लम्सालले समालेका छन् ।








प्रतिक्रिया दिनुहोस