अत्तरिया: कैलालीमा सशस्त्र प्रहरी बलले ५ लाख मुल्यको अबैध कुखुरासहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले ५ लाख भन्दा बढी मुल्यको अबैध कुखुराका चल्लासहित तीन जनालाई पक्राउ गरेको हो ।
आज जिल्लाको कैलारी गाउँपालिका मोहनपुर सीमा ईलाकामा भारतबाट अबैध रुपमा भन्सार छलीर ल्याउदै गरेको अवस्थामा ५ लाख ४ हजार १८० मुल्यको कुखुराका चल्ला, केवल वायर र उक्त सामान बोक्न प्रयोग गरिएका तीन थान मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा कैलारी गाउँपालिका(३ मोहनपुरका ३२ वर्षीय दिपकराम चौधरी, मोहनपुरकै २७ वर्षीय सन्चीराम चौधरी र सोही स्थानका २० वर्षीय सुवास चौधरी रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको ८ जनाको टोलीले उनीहरूलाई कुखुराका चल्ला, केवल वायर र उक्त सामान बोक्न प्रयोग गरिएका ३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
१२ सयको संख्यामा कुखुराका चल्लाहरुलाई पशु क्वारेन्टाईन कार्यालय कैलाली, कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलाली, कैलाली भन्सार कार्यालय धनगढीका प्रतिनिधिहरु सहितको रहोवरमा प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरको आन्तरिक पेरिमिटरभित्र नष्ट गरिएको छ ।








प्रतिक्रिया दिनुहोस