अत्तरिया: अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीसँग विशेष अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेको छ । सोडारी सोमबार अदालतमा उपस्थित भएकोमा बयानपछि उनको थुनछेक भएको हो । उनी एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको बिशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।
पदमा बसेर गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध जेठ १९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीविरुद्ध एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ ।
सोडारी ६ वैशाख २०८१ देखि २० साउन सम्म करिब तीन महिना प्रदेशको मुख्यमन्त्री थिए । त्यसअघि उनी प्रदेशको भौतिक पूर्वाधारमन्त्री थिए । सुदूरपश्चिमको प्रदेश सभा सदस्यसमेत रहेका उनी नेकपा एकीकृत समाजवादीका नेता हुन् । भ्रष्टाचार मुद्दापछि उनको प्रदेश सभा सदस्य पद निलम्बनमा छ ।








प्रतिक्रिया दिनुहोस