अत्तरिया: डिभिजन वन कार्यालय धनगढीमा दुई जना डिएफओ कार्यरत रहेको पाइएको छ । डिभिजन वन कार्यालय धनगढीमा कृष्णदत्त भट्ट र रामवचारी ठाकुर डिएफओको रूपमा कार्यरत रहेको पाइएको हो ।
डिभिजन वन कार्यालय धनगढी पुग्दा डिएफओ कृष्णदत्त भट्ट फिल्डमा गएको बुझिएको छ । तर डिएफओको रूपमा रामविचारी ठाकुर उनको कुर्सीमा बसेको पाइएको छ ।
किन धनगढीमा दुई डिएफओ ?
सुदूरपश्चिम प्रदेश सरकारले दसौँ तहका वन अधिकृतको समय नपुगेरै सरुवा गरेपछि सो निर्णय विवादित भएको छ । प्रदेश सरकारको साउन ३० गतेको निर्णय अनुसार दसौँ तहका तीन जना वन अधिकृतलाई समय नपुगेरै सरुवा गरेको हो ।
प्रदेश सरकारले डिभिजन वन कार्यालय धनगढीका प्रमुख कृष्णदत्त भट्ट, डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेल र डिभिजन वन कार्यालय कञ्चचनपुरका प्रमुख रामबिचारी ठाकुरलाई समय नपुगेरै सरुवा गरेको छ । यी तीनै जना दसौँ तहका वन अधिकृत हुन् ।
९ महिनाअघि मात्र डिभिजन वन कार्यालय धनगढीको प्रमुखको रुपमा पठाइएका कृष्णदत्त भट्टलाई डिभिजन वन कार्यालय पहलमानपुरमा सरुवा गरिएको छ भने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेललाई डिभिजन वन कार्यालय कञ्चनपुर पठाइएको छ ।
यसैगरी डिभिजन वन कार्यालय कञ्चनपुरमा कार्यरत रामबिचारी ठाकुरलाई डिभिजन वन कार्यालय धनगढी सरुवा गरिएको छ । ठाकुरलाई केही महिनाअघि मात्र कञ्चनपुरमा कालोमोसो समेत दलिएको थियो ।
समय अगावै विना कारण सरुवा गरेपछि कृष्णदत्त भट्ट र रामचन्द्र कँडेलले उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए । उच्च अदालत दिपायलले भदौ ५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सुदूरपश्चिम प्रदेशका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरी प्रदेश सरकारको साउन ३० गतेको सरुवा निर्णय कार्यान्वयन नगर्न भनेको छ ।
अल्पकालीन अन्तरिम आदेशमा भनिएको छ( ‘मिति २०८२र४र३० गतेको सरुवा निर्णय कार्यान्वयन नगर्नू, अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेमा दुवै पक्षसँग छलफलका लागि भदौ २० गते पेशी तोकिएको छ, सो दिन बिपक्षिले पनि सम्पुर्ण कागजातसहित उपस्थित हुनू ।’
नियम अनुसार निजामती कर्मचारी नवौँ र दसौँ तहकालाई कम्तिमा २ वर्षसम्म एक ठाउँबाट अर्को ठाउँ सरुवा गर्न पाइने छैन । यदि २ वर्षअगावै सरुवा गर्नुपरेमा कि ती कर्मचारी पुरष्कृत भएको हुनुपर्यो, कि कारवाही भएको हुनुपर्यो या कायम रहेको दरवन्दी नै खारेज भएको हुनुपर्यो नभए सरुवा गर्न पाइँदैन । तर अहिले गरिएको सरुवामा यी तीनवटै कुनै अवस्था लागू भएको छैन।
स्रोतका अनुसार डिभिजन वन कार्यालय कञ्चनपुरबाट रामबिचारी ठाकुरलाई डिभिजन वन कार्यालय धनगढीमा ल्याउनका लागि नियम विपरीत सरुवा गरिएको हो । अहिले वन क्षेत्र हेर्ने विभागीय मन्त्रालय वन उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री कमलबहादुर शाहले नै सम्हालेका छन् ।








प्रतिक्रिया दिनुहोस