धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बालनरसिंह राणाको पनि सरुवा भएको छ। केहीदिन अघि मात्र प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको सरूवा भएको थियोे।
कैलाली जिल्ला कारागारमा भएको झडप घटनापछि देखिएको लापरबाहीका कारण प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणालाई सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालयले बुधबार उनलाई मुख्यालय तानेको हो।
राणाले कैलाली प्रहरीको नेतृत्व सम्हालेको चार महिना पनि नपुग्दै सरुवा हुनु परेको हो। उनी गत बैशाख २३ गते मात्रै कैलाली खटिएका थिए। उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र चन्दलाई नयाँ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
साउन २३ गते राति कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए। यसअघि सोही घटनापछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई समेत गृह मन्त्रालय तानेर कृष्णप्रसाद लम्साललाई नयाँ सिडिओका रूपमा पठाइएको थियो।








प्रतिक्रिया दिनुहोस