अत्तरिया: लक्ष्मी शाहको कैलालीको टीकापुरमा कस्मेटिक र कपडाको पसल थियो। व्यापार गर्ने सिलसिला उनले सोनु रेग्मीसँग मिटरव्याजमा पैसा लिएको बताएकी छन्। २०७३ सालमा लक्ष्मीकी साथी रिता विकले सोनुबाट मिटरव्याजमा पाँच लाख ऋण लिँदा ग्यारेन्टीमा लक्ष्मीले सोनुलाई आफ्नो खाली चेक दिएकी थिइन्।
रिता विकले सोनुलाई एक महिनाभित्रै रकम चुक्ता गरे पनि लक्ष्मीलाई चेक फिर्ता गरिएन। आफूलाई फिर्ता दिनुपर्ने खाली चेक सोनुले रिना धिताललाई दिएको लक्ष्मीको दाबी छ। त्यही साथीलाई सहयोग गर्न बन्दकी राख्न दिएको खाली चेक नै लक्ष्मीका अनुसार उनको उठीबास गराउने कारण बन्यो।
‘मेरो खाली चेकमा रिना धितालले ५० लाख रकम उल्लेख गरी अदालतमा मुद्दा दर्ता गरेको अदालतको पत्र आएपछि मात्रै थाहा थियो। रिनासँग मेरो लेनदेन नै थिएन,“ उनले भनिन्’, ‘कैलाली जिल्ला अदालत, उच्च अदालत दिपायल र सर्वोच्च अदालतबाट समेत मुद्दा हारे मैले कतैबाट पनि न्याय पाएन।’ लक्ष्मीले अगाडि भनिन्, “यदि रिनाले मलाई ५० लाख दिएको भए उसले पैसा दिएको बैंक स्टेटमेन्ट जाँच हुनुपर्ने, मैले खर्च गरेको जाँच हुनुपर्ने र उसको आम्दानीको स्रोत खोजिनुपर्ने हो।
तर अदालतमा त्यो कुराको खोजी गरिएन। जसले गर्दा मैले हार्नु प¥यो। लक्ष्मीले मुद्दा लड्दा लड्दै हृदयघात भएर आफ्नो पतिको २०७८ साल बैशाख २६ गते मृत्यु भएको बताएकी छन् भने मुद्दा लड्न खर्चको जोहो गर्न धनसिंहपुरको दस कट्ठा जग्गा समेत बिक्री गर्नुपरेको दुखेसो पोखेकी छन्।
पाँच लाख ऋण लिएर आधा तिरेको अवस्थामा आफ्नै कमजोरीको फाइदा उठाउँदै खाली चेकमा ५० लाख रकम उल्लेख गरेर रिना धितालले आफूलाइ आर्थिक लेनदेन तथा चेक अनादर मुद्दा लगाएको लक्ष्मीको भनाइ छ। रिनासँग मुद्दा हार्दा लक्ष्मीले टीकापुरमा दुई कट्ठा जग्गामा बनेको ७ कोठाको डेढ तले घर गुमाउनु परेको छ।
सर्वोच्च अदालतबाट समेत मुद्दा जितेर रिना धितालले २०८० कात्तिक २१ गते घर जग्गा आफ्नो नाममा रजिष्ट्रेसन गरेको लक्ष्मीले बताइन्। ‘रिनाबाट माग्दै नमागेको ५० लाख तिर्नुपर्ने कानुनी फन्दामा परेर सम्पत्ति पनि गयो मान्छेको ज्यान पनि गयो’, उनले भनिन्, ‘उच्च अदालत दिपायलमा मेरा चार छोराछोरीले अंश मुद्दा जितेकामा सो समेत बदर गरियो र कही कतैबाट न्याय मिलेन।’








प्रतिक्रिया दिनुहोस