महेन्द्रनगर: कञ्चनपुरमा दैनिक रूपमा तस्करी हुने गरेको छ। भारतबाट दैनिक रूपमा ठूलो परिणाममा तस्करीको सामान कञ्चनपुर भित्रिने गरेको पाइएको हो।
सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणले साढे ६ महिनाको अवधिमा मात्र कञ्चनपुरको सीमाबाट ८ करोडभन्दा बढीका सामान र तस्करीमा प्रयोग भएका सवारीसाधन बरामद गरेको छ।
सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणको तथ्यांकअनुसार गत २०८१ फागुनदेखि १५ भदौ २०८२ सम्म ८ करोड दुई लाख ५७ हजार ६२५ रुपैयाँबराबरका अवैध सामान बरामद गरेको हो।
गत फागुनमा एक करोड ३९ लाख ६० हजार २६१, चैतमा ९७ लाख तीन हजार ८१०, वैशाखमा ७९ लाख ३१ हजार १८३, जेठमा ५० लाख २९ हजार ६१६, असारमा ६८ लाख १३ हजार ४९५ रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ। यसैगरी, साउनमा ९१ लाख ३३ हजार ३७० रुपैयाँबराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीले गड्डाचौकी, ब्रह्मदेव, दोधारा-चाँदनी, बेलडाँडी, बेलौरी, पुनर्वाससहितका विभिन्न नाकाहरूबाट अवैध सामान र उक्त सामान तस्करीमा प्रयोग भएका सवारीसाधन बरामद गरेर भन्सार चलान गरेको हो।
सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टले भारतबाट भित्रिने जिल्लाका विभिन्न स्थानबाट बरामद अवैध सामान भन्सार चलान गरिएको बताए।
यसैगरी नेपाल प्रहरीले पनि दैनिक रुपमा तस्करीको सामान र तस्करीका सामान ओसारपसार गर्न प्रयोग भएका सवारीसाधन दैनिक रुपमा बरामद गर्ने काम गर्दै आएको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीले सामान तस्करीमा संलग्न अधिकांश व्यक्तिलाई पक्राउ भने गर्न सकिरहेको छैन।








प्रतिक्रिया दिनुहोस