अत्तरिया: सुदूरपश्चिममा नेताहरूका आलीशान महलमा तोडफोड र आगजनी गरिएको छ। भष्टाचार गरेर बनाइएका आलीशान महलमा नयाँ पुस्ताको जेन-जी समुहले तोडफोड र आगजनी गरेको हो।
मंगलबार ठुला नेता, केही जनप्रतिनिधी, राजनीति आडमा अकुत सम्पत्ति आर्जन गरेका व्यापारी लगायतका निवासमा समेत जेन-जी समुहले तोडफोड र आगजनी गरेको छ। यता कैलालीको अत्तरिया क्षेत्रमा रहेका पार्टीका कार्यालय, नेता, जनप्रतिनिधिका घर र गोदावरी नगरपालिकाको भवनमा पनि तोडफोड र आगजनी गरिएको छ।
नगरपालिका कार्यालय ध्वस्त नै पारिएको छ। नगरपालिका कार्यालयभित्रै आगजनी गर्नुका साथै नगरपालिका परिसरमा रहेका मोटरसाइकलमा समेत आगजनी गरिएको छ। आगजनी र तोडफोडपछि नगरपालिका कार्यालय पुरै तहसनहस भएको छ।
ठुलो सङ्ख्यामा रहेका जेन-जीहरूले गोदावरीमा एमाले नेता लेखराज भट्टको घर जलाएर ध्वस्त पारेका छन्। भट्टको घरभित्र रहेका सामान बाहिर फालेर पुरै घरमा लागो लगाएको हो। घर आगोले दनदनी बलिरहेको भए पनि आगलागी भएको लामो समयसम्म दमकल समेत पुग्न नसक्दा ठुलो क्षति भएको स्थानीयले बताए।
यस्तै गोदावरीका मेयर बिरेन्द्र भट्टको घरमा पनि आगजनी गरिएको छ। अत्तरिया बजारको घना बस्तीमा रहेको भट्टको घरमा तोडफोडपछि आगजनी गरिएको हो। यस्तै गोदावरी नगरपालिकाका पूर्व मेयर हरिसिंह साउँदको घरमा पनि तोडफोड गरिएको छ।
गोदावरीको वडा नम्बर २ का वडा सदस्य देवराज भट्टको घरमा पनि तोडफोड गर्दै घरभित्र रहेका सामान बाहिर फालेर आगजनी गरिएको छ। सो समुहले नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति वसन्त रोकायाको घरमा पनि तोडफोड गरेको छ।
जेन-जीले अत्तरियामा रहेका तीन ठुला पार्टीका कार्यालयमा पनि तोडफोड गर्नुका साथै कार्यालयमा रहेका फर्निचर र कागजातमा आगजनी गरेका छन्। अत्तरियाको दुर्गा मन्दिर परिसरमा रहेको नेकपा माओवादी पार्टी कार्यालय, वन खेतमा रहेका नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड गरिनुका साथै कार्यालयका सम्पूर्ण सामान जलाएर नष्ट गरिएको छ।
अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको छ। उता सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा दर्जनौँ संरचनामा आगजनी र तोडफोड भएको छ। सयौँको सङ्ख्यामा प्रदर्शनमा सहभागी जेन-जीले पार्टी कार्यालय, सरकारी कार्यालय र सवारीसाधनमाथि आगजनी गरेका थिए।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नियन्त्रणमा लिएर तोडफोड सुरु गरेका उनीहरूले सरकारी कार्यालय निसाना बनाएका थिए। उनीहरूले प्रदेश प्रमुखको कार्यालयमा आगो लगाउँदै दुईवटा गाडी समेत जलाएका छन्। धनगढीकै टेम्पल रिसोर्टमा पार्किङ गरिएका आधा दर्जन सरकारी गाडीमा पनि आगजनी गरिएको छ।
प्रदर्शनकारीहरूले सुदूरपश्चिम प्रदेश सभा सचिवालयको भवनमा प्रवेश गरेर त्यहाँ समेत आगो लगाइदिएका छन् भने मोटरसाइकल, फर्निचर लगायतका सामान जलाएका छन्। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको छ। उनीहरूले धनगढीमा रहेका नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालयमा समेत आगो लगाएका छन्।
जेन-जी आन्दोलनका क्रममा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले धनगढीस्थित प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रवेश गरी तोडफोड तथा आगजनी गरेका छन्। आन्दोलनकारीहरूले कार्यालयतर्फ अगाडि बढेर ढुंगामुढा गर्नुका साथै कार्यालयभित्र रहेका कागजात र सामग्रीमा समेत आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीका कारण कार्यालयमा रहेका महत्त्वपूर्ण कागजात र उपकरणमा क्षति पुगेको छ।
आक्रोशित जेन-जीहरुले छानाछानी सरकारी कार्यालयमा तोडफोड र आगजनी गरे पनि सुरक्षाकर्मी भने मुखदर्शक भएर हेर्न बाध्य भएका थिए। जिल्ला प्रशासन कार्यालयले दिउँसो साढे १२ बजेदेखि कफ्र्यु आदेश जारी गरेको भए पनि त्यसको कुनै प्रभाव पर्न सकेन। आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत आगजनी गरेका छन्।
जेन-जीको आन्दोलनका क्रममा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरमा आगजनी गरिएको छ। यसैबिच कैलाली कारागारका सबै कैदीबन्दी निस्किएका छन्। आन्दोलनमा उत्रिएका जेन-जीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरू निस्किएका हुन्। सो कारागारमा केही समयअघि मात्रै दुई समूहबिच झडप भएको थियो। त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए।
जेन-जी समूहका युवाहरूले घोडाघोडी नगरपालिकाको कार्यालय पूर्ण रूपमा तोडफोड गर्दे आगजनी गरेका छन। त्यसको साथै वडा नम्बर १, २, ३ र ४ वडा कार्यालयमा आगजनी गरेका छन। उनीहरुले नगरप्रमुख बस्ने निवास र प्रमुख प्रशासकीय अधिकृत बस्ने निवासमा तोडफोड गर्दे आगजनी गरेका छन्।
कञ्चनपुरमा भएको जेन-जीको आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा पनि तोडफोड आगजनी गरिएको छ। जेन-जी समूहले एमाले पोलिट ब्युरो सदस्य समेत रहेका पूर्व मुख्यमन्त्री रावलको भीमदत्त नगरपालिका–६ ऐठपुरमा रहेको घरमा आगजनी तोडफोड गरेका हुन्। आन्दोलनकारीले भित्रै पसेर सामान तोडफोड गर्दै नाराबाजी गरेका थिए।
यसैबिच गृहमन्त्री रमेश लेखकको बेदकोट नगरपालिका-८ मा रहेको निवासमा पनि तोडफोडका साथै आगजनी गरिएको छ। डडेल्धुरामा पनि जेन-जीले दिनभरि प्रदर्शन गरेका थिए। जिल्ला प्रशासन कार्यालय घेराउ गरेका त्यहाँका प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरूले एमाले पार्टी कार्यालयमा पनि तोडफोड गरेका छन्।
उता दार्चुलामा पनि पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ। बैतडीमा पनि जेन-जी पुस्ताले प्रदर्शन गरेका छन्। जेन-जी पुस्ताले गरेको आन्दोलनमा सरकारले गरेको दमनको विरोध गर्दै युवा विद्यार्थीहरु स्वस्फूर्त रुपमा प्रदर्शनमा उत्रेका थिए।








प्रतिक्रिया दिनुहोस