धनगढी: सुदूरपश्चिमका ६ जिल्ला कारागारबाट एक हजार ४०६ कैदीबन्दी फरार भएका छन्। कैदीबन्दी भागेपछि कारागार रित्तिएका छन्।
फरार भएकामध्ये ६९ जना कैदीबन्दीलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता निसान्त श्रीवास्तवले बताए। सबैभन्दा बढी कैलालीबाट ६ सय ६६ जना कैदीबन्दी फरार भएका हुन्। कञ्चनपुरबाट ४५८ जना, बझाङबाट ६५, बैतडीबाट ६१ र दार्चुला कारागारबाट ७१ जना कैदीबन्दी फरार भएको प्रहरीले जनाएको छ।
डडेलधुरा कारागारबाट बुधबार बिहान ८५ जना कैदीबन्दी भागेका थिए। भागेका ४१ जना कैदीबन्दीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डम्मर विष्टले बताए। आन्दोलन र कारागारबाट ठुलो संख्यामा कैदीबन्दी भागेपछि भारतसँग जोडिएका सीमा नाकामा कडाइ गरिएको छ।
कञ्चनपुरको गड्डाचौकी, धनगढीको त्रिनगर नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाइएको छ। त्रिनगर, गड्डाचौकी नाकामा भारतीयलाई पनि आफ्नो देश जान आधार कार्डलगायत परिचय खुल्ने कागजपत्र अनिवार्य गरिएको छ।








प्रतिक्रिया दिनुहोस