अत्तरिया: सुदूरपश्चिमका नौवटै जिल्लामा कर्फ्यु जारी छ। प्रदेशभित्र यतिबेला कर्फ्यु र निषेधाज्ञा लम्ब्याइएको छ। कर्फ्यु र निषेधाज्ञाका कारण प्रदेशको अस्थायी राजधानी धनगढीसहित प्रमुख सहर सुनसान बनेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक निसान्त श्रीवास्तवले आन्दोलनपछि लुटपाट तथा तोडफोड र आगाजनीका घटना हुन नदिन कर्फ्यु र निषेधाज्ञा जारी गरिएको बताएका हुन।
आन्दोलनकारीले धनगढीस्थित जिल्ला कारागारबाट ६ सय ६६ जना कैदीबन्दीलाई भगाएका थिए। अहिले जिल्लामा अवस्था समान्यउन्मुख भए पनि सम्भावित घटनालाई ध्यानमा राखेर निषेधज्ञा र कर्फ्यु जारी राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए।
तीनजना भन्दा बढीको समूह बनाई आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, वैठक तथा सभा गर्न रोक लगाइएको छ। जेनजी आन्दोलनका क्रममा कैलालीमा ठुलो क्षति भएको छ।
प्रदेश सरकारका मन्त्रालयहरू, भन्सार कार्यालय, जिल्ला प्रशासन, मालपोत, नापीलगायत प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेका सबैजसो सरकारी कार्यालयमा आन्दोलनकारीले आगो लगाएका थिए। आगलागीबाट सरकारी कार्यालयहरू ध्वस्त बनेका छन्।








प्रतिक्रिया दिनुहोस