अत्तरिया: भदौ २४ गतेको आन्दोलनले सुदूरपश्चिमका सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुग्यो। नेपाल नगरपालिका संघले संकलन गरेको तथ्यांकमा पनि यहाँ ठुलो क्षति पुगेको उल्लेख छ। सुदुरपश्चिममा ५ वटा नगरपालिकामा आगजनी भएको छ।
मध्यम क्षति तोडफोड यहाँका ६ वटा नगरपालिकामा भएको पाइएको छ। देशभरका कुल २९३ नगरपालिकाहरूमध्ये १७ वटा नगरपालिकामा भने सम्पर्क स्थापित हुन नसकेको नगरपालिका संघले जनाएको छ। यसमध्ये सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९ वटा नगरपालिकामा सम्पर्क हुन सकेको छैन।
यस्तै जेनजी आन्दोलनले क्षति पुर्याएका गाउँपालिका भवनको विवरण पनि सार्वजनिक भइसकेको छ। गाउँपालिका राष्ट्रिय महासंघले जेनजी आन्दोलनका कारण क्षति पुगेका गाउँपालिका, वडा कार्यालय र जनप्रतिनिधिका घरहरूको तथ्यांक सार्वजनिक गरेको हो।
तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन १ पूर्ण र ५ आंशिक रूपमा क्षति भएको छ। वडा कार्यालयको भवन १३ आंशिक रूपमा क्षति भएको छ। यस प्रदेशमा जनप्रतिनिधिको २ घर पूर्ण रूपमा क्षति भएको छ।
गाउँपालिका राष्ट्रिय महासंघले घटनाको निन्दा गर्दै यस्ता गतिविधिले स्थानीय सरकारको कार्य सञ्चालनमा बाधा पुगेको बताएको छ। महासंघले सम्बन्धित निकायलाई घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेको छ।








प्रतिक्रिया दिनुहोस