अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले खरिद गरेर राखेको ९४ लाख मूल्य बराबरको औषधि जलेर नष्ट भएको छ। २०८२ साल भदौ २४ गते जेन-जी समूहले नगरपालिका तोडफोडसँगै आगजनी गरेपछि सो मूल्य बराबरको औषधि जलेर नष्ट भएको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले बताएका छन्।
जेन-जी समूहले नगरपालिका तोडफोडसँगै आगजनी गरेपछि स्वास्थ्य, शिक्षा, जेन्सी लगायत शाखा पूर्णरूपमा ध्वस्त भएका छन् भने प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष मेयर उपमेयर लगायतका कार्यकक्षमा पनि तोडफोडपछि ठूलो क्षति पुगेको उनले बताएका छन्।
तोडफोड र आगजनीपछि कार्यालयभित्र रहेका कुनै पनि कम्प्युटर र फर्निचर काम नलाग्ने गरी नष्ट भएका छन्। भूमि, रोजगार र प्रशासनका केही सामग्री तथा कागजात जोगिएको भएपनि बाँकी सबै सामग्री काम नलाग्ने अवस्थामा पुगेको अर्थात् आगलागीबाट नष्ट भएको बताइएको छ।
गोदावरी नगरपालिकाभित्र राखिएका सातवटा मोटरसाइकल समेत जलाएर नष्ट गर्ने काम भएको प्रमुख प्रशासकीय अधिकृत बिनाडीले बताएका छन्। नगरपालिका तोडफोड र आगजनीपछि यहाँबाट ठूलो संख्यामा सामानहरू चोरी गर्ने काम भएको थियो। तर यतिबेला भने केही सामग्रीहरु फिर्ता भइसकेको कार्यालयले बताएको छ।
प्रमुख प्रशासकीय अधिकृत बिनाडीका अनुसार यतिबेला गोदावरी नगरपालिकामा विद्युत र इन्टरनेट जडान गर्ने काम भइरहेको छ। मङ्गलबारदेखि सम्पूर्ण सेवा सुचारु हुनेगरी काम भइरहेको उनले जानकारी गराएका छन्।








प्रतिक्रिया दिनुहोस