अत्तरिया: कैलालीमा धमाधम लुटिएका पेस्तोल भेटिन थालेको छ। जिल्लाका विभिन्न स्थानबाट पेस्तोल भेटिन थालेको प्रहरीले जनाएको छ। हिजो मात्र जिल्लाको घोडाघोडी नगरपालिका–१ बेलारबाट एक युवकलाई चाइनिज पेस्तोलसहित पक्राउ गरिएको छ।
मंगलवार दिउँसोको समयमा प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय आकाश शाहीलाई उनको घरनजिकै पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शाहीको घरभित्र रहेको भान्साघरबाट म्याग्जिनसहितको टाइप–५४ मोडेल चाइनिज पेस्तोल (नं. ५५०१०२३४० बरामद गरिएको हो।
प्राथमिक सोधपुछमा शाहीले भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा काठमाडौँस्थित महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट उक्त हतियार लुकाई ल्याएको बयान दिएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। केहिदिन अघि मात्र कैलालीमा हतियारसहित चार जना युवक पक्राउ परेका थिए।
गौरीगंगा नगरपालिका-१ का १९ वर्षीय समीर खड्काको घरबाट पेस्तोल एक थान, म्यागजिन १ थान, राउण्ड थान-२८ र सोही स्थानका १९ वर्षीय आभाष चन्दको साथबाट रिभल्वल बीआएफ ५५८२ नम्बरको पेस्तोल १ थान बरामत गरी दुबै जना लाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।
उक्त हातहतियार जेन-जी आन्दोलनको क्रममा काठमाण्डौ उपत्यका ट्राफीक प्रहरी कार्यालय रामशाहापथ काठमाण्डौबाट लुटिएको हो भनि खुल्न आएको प्रहरीले जनाएको छ।
साथै गौरीगंगा नगरपालिका-१ का २२ वर्षीय हिमाल आचार्य र सोही स्थानका २० वर्षीय जिबेश साप्कोटालाई पनि पक्राउ परेका थिए।








प्रतिक्रिया दिनुहोस