अत्तरिया: कैलालीमा जघन्य अपराध भयावह रूपमा बढ्न थालेको छ। जिल्लाभित्र एक साताको अवधिमा मात्र दुई जनाको हत्या र एक जनामाथि चक्कु प्रहार भएको छ। दुई जना युवक हत्याका अभियुक्त चार जना र अतरियामा एक अर्का युवकमाथि चक्कु प्रहार गरेको आरोपमा ११ जना पक्राउ परेका छन्।
ज्यान मार्ने उद्योगमा संलग्न ११ जना पक्राउ
कैलालीको गोदावरीमा ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। असोज २६ गते गोदावरी-४ को एक होटेलमा खाना खाइरहेका डडेल्धुराको नवदुर्गा-२ का २१ वर्षीय गौरव ऐरलाई धारिलो हतियार प्रहार गरेका उनीहरूलाई प्रहरीले मङ्गलवार धनगढीबाट पक्राउ गरेको हो।
होटेलमा खाना खाइरहेका ऐरलाई धारिलो हतियारले प्रहार गरी उनको हातको औला काटिनुको साथै टाउको र घाटीमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते ऐरलाई तत्काल उपचारको लागि मायामेट्रो अस्पताल धनगढीमा पठाइएकोमा थप उपचारका लागि भारत लगिएको छ।
प्रहरी कार्यालय कैलालीबाट खटिगएको प्रहरी टोलीले भारत भाग्ने क्रममा ११ जनाको समूहलाई पक्राउ गरेको हो। उनीहरूलाई धनगढी उपमहानगरपालिका-३ को नेपाल-भारत सिमानाका त्रिनगर भन्सारबाट पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धनगढी-२ का २९ वर्षीय सन्नी भनिने भीम नेपाली, धनगढी-२ कै १८ वर्षीय अनुपम सिंह, कन्चनपुरको कृष्णपुर नगरपालिका-९ का २३ वर्षीय किरण महरा, धनगढी- २ बस्ने १८ वर्षीय मुस्कान सिंह पक्राउ परेका छन्।
यस्तै धनगढी-२ का २० वर्षीय बबिन सिंह, कन्चनपुरको कृष्णपुर-९ का २६ वर्षीय गोबिन्द बलायर, धनगढी-२ का २६ वर्षीय गोपाल भट्ट, धनगढी-३ का १८ वर्षीय विशाल बोहरा, १८ वर्षीय प्रिन्स सिंह, कन्चनपुरको पुर्नवास-१० बस्ने ३२ वर्षीय दिनेश बिक र कन्चनपुरकै पुर्नवास-१० का ३२ वर्षीय अनिल बिक पक्राउ परेको प्रहरीले जनाएको छ।
शेरबहादुरको हात खुट्टा भाँचेर हत्या
कैलालीमा एक युवकको हात खुट्टा भाँचेर हत्या गरिएको खुलेको छ। जिल्लाको गोदावरी नगरपालिका-१० खमौरा शिविर टोलका ३५ वर्षीय शेरबहादुर चौधरीलाई छिमेकी लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास मल्लले असोज २३ गते राति २ बजे घरको ढोकामा हान्दै मार्ने धम्की दिएको खुलेको छ।
मध्यरातमा घरमै आएर मार्ने भन्दै दिँदै ढोका तोड्न थालेपछि शेरबहादुर पछाडिको ढोकाबाट भागेका थिए। लोकेन्द्र र विकासको धम्की सुनेर राति २ बजे नै घरको पछाडिको ढोकाबाट भागेका शेरबहादुर असोज २४ गते घर नजिककै खोलामा मृत फेला परेका हुन्।
राति घरभित्रै मारिने डरले भागेका शेरबहादुरको शव घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दले बताए।
मृतक शेरबहादुर चुलुराम डगौरा र आमा पुतली डगौराको जेठो सन्तान हुन्। उनको ७ वर्षको छोरी छन् भने श्रीमतीसँग डिभोर्स भइसकेको छ। लक्की मल्ल र विकास मल्लबाट अत्तरियामा कुटाइ खाने रमेश चौधरी चुलुरामका कान्छो छोरा हुन्।
खेती किसानी गर्ने र ट्याक्टर चलाउने काम गर्ने शेरबहादुर परिवारकै जान्नेसुन्ने सदस्य हुन्। घरको जाँगर भएको र कमाइ गर्ने सदस्य गुमानुपर्दा चुलुराम डगौराको परिवार अहिले गहिरो शोकमा डुबेको छ।
गत बैशाख १७ गते मृतक शेरबहादुर चौधरीले आफ्नो कान्छो भाइको विवाह गराएका थिए। बिहेको भोजमा लक्की मल्लसमेत सहभागी थिए। तर उनले छुट्टै पार्टी नदिएको भन्दै कुरा सुनाउने गरेको चौधरीको परिवारले बताएको छ। बिहेमा राम्रोसँग पार्टी नदिएको भन्ने तुष मनमा पालेको मल्ल बैशाखयता बेलाबखत चौधरीको घरमा आइरहने मृतककी भाइ बुहारी सलिना चौधरीले बताइन्।
असोज २३ गते पनि लक्की मल्लले विनोद मल्ललाई साथमा लिएर चौधरीको घरमा आएको र आफ्नो श्रीमानलाई जबरजस्ती कुखुराको मासु पकाउन लगाएको सलिनाले दाबी गरिन।
गाउँ नजिकैको खोलामा मासु र रक्सी खाएर मल्ल दाजुभाइले रमेश चौधरीलाई अत्तरिया लगेको चौधरी परिवारको दाबी छ। अत्तरियाको एक डान्स बारमा लगेर लक्की मल्ल र विकास मल्लले मृतक शेरबहादुरका भाइ रमेशलाई कुट्छन्। झगडा हुँदा डान्सबार मालिकले उनीहरूलाई निकालेको र सडकमा मल्ल दाजुभाइले रमेशलाई निर्घात कुटपिट गरेको मृतक चौधरी परिवारको दाबी छ।
लक्की मल्ल र चौधरीको घर एउटै टोलमा छ। दुबैको घर केही दुरीमा छ। दसैँको दिन लक्की मल्लको बुवा मृतक चौधरीको घरमा गएर रक्सी मागेर खाएका थिए। दसैँमा लक्कीको बुवाले सुरूमा रक्सी मागेर खाएको त्यसपछि तिमीहरू माग्नेको सन्तान हौ भनेर आफूलाई गाली गरेको मृतकी आमा पुतली डगौराले बताइन्।
मृतककी भाइ बुहारी सलिना र अन्य आफन्तका अनुसार बिहेको दिन राम्रो पार्टी नदिएको भन्दै लक्कीले मनमा तुष पालेर घटना घटाएको दाबी गरेका छन्। २३ गते राति लक्की मल्ल र विकास मल्लको ज्यान मार्ने धम्कीबाट डराएका शेरबहादुर चौधरी घरको पछाडिको ढोकाबाट भागेका थिए। उनलाई भाग्ने बित्तिकै मल्लसहितका मान्छेहरूले नियन्त्रणमा लिएको आशंका परिवारको छ।
राति बेपत्ता भएका चौधरीको फोनमा बिहानसम्म फोन लागे पनि नउठेको सलिना चौधरीले बताइन्। उनले जेठाजुलाई घरबाट निस्किने बित्तिकै नियन्त्रणमा लिएर कुटपिट गरेर खोलामा फालेको प्रयाप्त प्रमाणहरू देखिएको बताइन। शेरबहादुरको शव फेला परेको ठाउँमा बाइक गएको र चिप्लेको निशान देखिएको बताइन्।
शेरबहादुर २३ गते राति २ बजे घरबाट बेपत्ता भएका थिए। उनको शव मोहना र ओलानी खोलाको दोभानमा भेटिएको थियो। धान काट्न खेतमा गएकी स्थानीय महिलाले शव देखेकी थिइन्। शेरबहादुरको अन्तिम संस्कार असोज आज गरिएको छ। पोस्टमार्टमपछि असोज २५ गते परिवारले शव बुझेको थियो।
मृतकी फुपू लाहु चौधरीले शेरबहादुरको घाँटी शरीरका अन्य भागमा कुटपिट गरेको चिह्न देखिएको बताइन्। यस्तै अर्की फूपू लक्ष्मीकुमारी डगौराले शेरबहादुरको दुबै पाखुरा र खुट्टा भाँचिएको देखिएको बताइन्। हात र खुट्टाको हड्डी भाँच्ने गरी कुटपिट गरेर आफ्नो भदुको हत्या भएको उनको दाबी छ।
मृतकी आमा पुतली डगौराले आफ्नो छोराको घाँटी पछाडि डुङ्गाले हानेको छाप देखिएको र निर्घात कुटपिट गरी छोराको हत्या गरिएको उनले बताइन्। शेरबहादुरको मृत्युपछि चौधरी परिवारले थप असुरक्षित महसुस गरेको छ।
मल्ल दाजुभाइ विरुद्ध किटानी जाहेरी दिएको चौधरी परिवारले लक्की मल्लको आफन्तबाट आफूहरूलाई धम्की आएको चौधरी परिवारको दाबी छ। उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र परिवारको सुरक्षाको माग गरेका छन्। लक्की मल्ल र विकास मल्ल पहुँचवाला भएकाले न्याय नपाउने चिन्ता चौधरी परिवारको छ।
युवकको टाउको बोकेर प्रहरी चौकी पुगे दुई जना
कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार सोही वडाका १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गङ्गा बुढा क्षेत्री पक्राउ परेका छन्।
शुक्रबार राति खाजा खाने क्रममा भएको आपसी विवाद चर्किएपछि बुढाको हत्या भएको हो। हत्यापछि मृतकको टाउको छिनाएर बोकी सुखडस्थित प्रतिखेत प्रहरी पोष्टमा आत्मसमर्पण गर्न जाँदै गर्दा उनीहरू पक्राउ परेका थिए।








प्रतिक्रिया दिनुहोस