महेन्द्रनगर: कञ्चनपुरमा एक प्रहरी अधिकृतमाथि कुटपिट भएको छ। जिल्लाको ब्रह्मदेव प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक देवेन्द्रबहादुर चन्दमाथि कुटपिट भएको हो। बिहीबार साँझ भीमदत्त नगरपालिका–९ ब्रह्मदेव महाकाली करिडोर मार्ग क्षेत्रमा सइ चन्दमाथि कुटपिट भएको हो।
निर्माणाधीन महाकाली करिडोर क्षेत्रबाट बोलेरो जिपमा महेन्द्रनगरदेखि यात्रु ओसारेर जगबुढा गइरहेका यात्रु र चालकले सइ चन्दमाथि कुटपिट गरेको भिडियो सर्वत्र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ। यात्रु र चालकको कुटाइबाट घाइते भएका सइ चन्द महाकाली अस्पतालमा उपचारपछि राति नै डिस्चार्ज भएका छन्।
ब्रह्मदेव प्रहरी चौकी इन्चार्ज सइ चन्दले बोलेरो जिपमा क्षमताभन्दा बढी यात्रु र सामान ओसारिरहेका चालक रमेश धामीसँग किन जोखिम मोलेर यात्रा गरिरहेको भन्ने प्रश्न गरेपछि उनीहरू आफुमाथि खनिएर कुटपिट गरेको बताए।
सइ चन्दमाथि कुटपिट गर्ने दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, चालकलाई भने अहिलेसम्म नियन्त्रणमा लिएको छैन। तेजबहादुर बोहरा र भरत जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ। कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले उनीहरूलाई अभद्र व्यवहारमा मुद्दा चलाउने बताए।








प्रतिक्रिया दिनुहोस