राजन खड्का: नेपालमा हालै देखिएको जेन-जी आन्दोलन केवल सडकमा भीड देखाउने क्रान्ति होइन, यो त पुस्तान्तरणसँगै सोच, व्यवहार र मूल्यमा भएको गहिरो परिवर्तनको संकेत हो। यो आन्दोलनको मूल उद्देश्य पुराना राजनीतिक दलहरूले दशकौँदेखि पाल्दै आएको भ्रष्टाचार, बेथिति, सत्ताको दुरुपयोग र जनताको सपनामाथि खेलवाड गर्ने प्रवृत्तिलाई अन्त्य गर्नु हो। नयाँ पुस्ता, जसलाई “जेन-जी” अर्थात् जनरेशन जेड भनिन्छ। अब आफ्नो भविष्य अरूको हातमा राखेर चुप बस्न चाहँदैन। उनीहरू स्वतन्त्र, प्रगतिशील र उत्तरदायी शासन चाहन्छन्।
यो आन्दोलनको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको यसको शान्तिपूर्ण र सचेत रूप हो। नेताहरूको निजी सम्पत्ति तोडफोड गरेर वा सार्वजनिक सम्पत्तिमा आगजनी गरेर होइन, बरु ती सम्पत्तिहरू यदि भ्रष्टाचार र गैरकानुनी कमाइबाट आर्जन भएका हुन् भने राज्यले राष्ट्रियकरण गर्नुपर्छ भन्ने आवाज यस आन्दोलनले बुलन्द गरेको छ। यो दृष्टिकोणले आन्दोलनलाई हिंसात्मक होइन, नैतिक न्याय र आर्थिक उत्तरदायित्वको मार्गमा उभ्याएको छ।
जेन-जी आन्दोलनका उपलब्धिहरू पनि उल्लेखनीय छन्। पहिलो, यसले जनतामा विश्वास जगाएको छ कि परिवर्तन केवल नेताबाट होइन, नागरिकबाट सुरु हुन्छ। दोस्रो, यो आन्दोलनले युवाहरूलाई देशप्रेम, पारदर्शिता र नीतिगत सचेतनाको बाटोमा उभ्याएको छ। तेस्रो, पुराना दलहरू जसले वर्षौँदेखि सत्ता र स्रोत आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेका थिए, उनीहरूलाई अब पनि जनताले प्रश्न गर्न सक्छन् भन्ने सन्देश दियो। चौथो, डिजिटल मञ्च र सामाजिक सञ्जाललाई प्रयोग गरेर सूचना, सन्देश र सत्यलाई जनतासम्म पुगाउन यो आन्दोलनलाई एक आधुनिक स्वरूप दिएको छ।
तर, नेपालमा धेरै किसिमका आन्दोलनहरु भए त्यसमध्ये जेन-जी आन्दोलनले पनि दीर्घकालीन, सकारात्मक र नकारात्मक दुवै प्रभावहरू सतहमा देखाएको छ। सकारात्मक रूपमा, यसले राजनीतिलाई नैतिकता र जवाफदेहिताको मार्गमा फर्काउने आशा जगाएको छ। नयाँ पुस्ताले पुरानो सोचलाई चुनौती दिँदै नीतिगत, पारदर्शी र नागरिकमुखी शासनको नयाँ संस्कार विकास गर्न सक्छ। यो आन्दोलनले शिक्षा, रोजगारी, स्वास्थ्य, र सुशासनका सवालमा राष्ट्रिय बहसको वातावरण बनाएको छ।
नकारात्मक रूपमा भने, यदि आन्दोलनले स्पष्ट नेतृत्व, दीर्घकालिन योजना र नीति नबनायो भने यसलाई राजनीतिक अवसरवादीहरूले आफ्नो स्वार्थमा प्रयोग गर्ने खतरा पनि रहन्छ। नेताहरूको सम्पत्ति राष्ट्रियकरण जस्ता मागहरू कानुनी रूपमा कार्यान्वयन गर्न नसकिएमा जनआकांक्षा निराशामा बदलिन सक्छ। त्यसैले, आन्दोलनको भावनात्मक उर्जालाई नीतिगत रूपान्तरणमा परिणत गर्नु नै यसको स्थायित्वको मापदण्ड हुनेछ।
अब मनन गरौँ पुराना राजनीतिक दलहरूले सिक्नुपर्ने पाठ के हो?
उनीहरूले बुझ्नुपर्छ—जनतालाई अब भाषण र वाचा होइन, परिणाम चाहिएको छ। युवा पुस्ता अब कहिले काहीं सुधार्छौ भन्ने आश्वासनमा होइन, तुरुन्त र पारदर्शी परिवर्तनमा विश्वास गर्छ। पुराना दलहरूले आन्तरिक लोकतन्त्र, पारदर्शी आर्थिक प्रणाली र इमानदार नेतृत्वको अभ्यास गरेन भने उनीहरू इतिहासको एउटा पानामा सिमित बन्नेछन्।
अन्ततः जेन-जी आन्दोलनले नेपालमा नयाँ विचार, नयाँ अनुहार र नयाँ मूल्य र मान्यताहरूको आवश्यकता देखाएको छ। यदि यो चेतनाले निरन्तरता पायो भने, नेपालले निकट भविष्यमा एक उत्तरदायी, पारदर्शी र भ्रष्टाचारमुक्त राष्ट्रसहित बलियो लोकतन्त्रको आधार निर्माण गर्न सक्नेछ। यो आन्दोलन केवल सडकको आवाज होइन, यो भविष्यको समृद्ध नेपालको सपना पनि हो। -लेखक खड्का गोदावरी नगरपालिका-४, अत्तरिया कैलालीका युवा समाजसेवी हुन।








प्रतिक्रिया दिनुहोस