अत्तरियाः सुदूरपश्चिम प्रदेशका चार सांसदले स्थायी राजधानी गोदावरीमै रहने बताएका छन् ।
सोमबार स्वतन्त्र नागरिक अभियानले कैलालीको अत्तरियामा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै यहाँबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार जना सांसदले राजधानी सार्ने विषयमा आधारिक रुपमा कुनै निर्णय नभएको बताएका छन् । सो अवसरमा प्रदेश सांसद खेमादेवी विष्टले गोदावरीबाट राजधानी सार्ने चलखेल भइरहेको बताइन् ।
उनले राजधानी सार्ने विषयमा आन्तरिक रुपमा गृहकार्य भइरहेको बताइन् । यदि गोदावरीबाट स्थायी राजधानी सार्ने निर्णय भए आफु पार्टीभन्दा माथि उठेर त्यसको प्रतिवाद गर्ने र आफ्नो सचिवालयबाट विज्ञप्ति नै जारी गर्ने प्रतिबद्धता उनले जनाएकी हुन् ।
“राजधानी सार्ने चलखेल भइरहेको छ । यस्तो चलखेल विरुद्ध यहाँका नागरिकले प्रतिवाद गर्नुपर्छ । म त्यसका लागि सदनदेखि सडकसम्मै दबाब दिन तयार छु । तत्कालिन प्रदेश सरकारको दुई तिहाई बहुमतबाट गोदावरीमा स्थायी राजधानी तोकिएको थियो । यदि यो स्थायी राजधानीलाई धनगढी सार्ने काम गरिए म त्यसको सडकदेखि सदनसम्मै प्रतिवाद गर्छु ।’
उनले वनले अवरोध गरेको विषयलाई बहाना बनाएर गोदावरीमा राजधानी कार्यान्वयन गर्न आनाकानी गर्ने काम भइरहेको बताइन । गोदावरीमा राजधानी कार्यान्वयन गर्न वनको कुनै अवरोध छैन, नेताहरुले यहाँ राजधानी बनाउन नचाएका कारण राजधानी घोषणा भएको ७ वर्ष वित्नै लाग्दा पनि उपलब्धि नदेखिएको मात्र हो, उनले भनिन् ।
सो अवसरमा प्रदेश सभा सांसद तुलसीदेवी देवकोटाले गोदावरीबाट स्थायी राजधानी धनगढी सार्ने विषयमा आफुलाई कुनै आधिकारीक जानकारी नभएको बताइन् । उनले राजधानीको विषयमा उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने बताइन् । यो विषयमा अहिले नै बोलिहाल्नुपर्ने अवस्था नभएको समेत उनको भनाई छ ।
राजधानीकै विषयमा सुदूरपश्चिम प्रदेशका अर्थराज्यमन्त्री प्रकाशबहादुर बमले पनि राजधानी सार्ने विषयमा आधिकारीक जानकारी प्राप्त नभएको बताए । आफु यही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकाले यहाँको जनताको रायबिना अघि नबढ्ने उनको भनाई छ ।
स्थायी राजधानी अहिलेसम्म कार्यान्वयन भइसक्नुपर्ने हो तर कार्यान्वयनमा ढिलाई हुनु विडम्बना भएको उनले बताए । तर यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित वीरबहादुर बलायरले भने राजधानी सार्ने चलखेल भइरहेकाले त्यसको प्रतिवाद गर्न स्थानीयले सहयोग गर्नुपर्ने बताएका छन् ।
साे अवसरमा सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गाेदावरीबाट राजधानी सार्ने षड्यन्त्र भए त्यसकाे खुलेर प्रतिवाद गर्ने बताए । आफुहरूले निकै मेहनत गरेर यहाँ राजधानी बनाउने निर्णय गरेकाले यदि त्याे निर्णय विपरित अहिलेकाे सरकार गएमा ठुलो मुल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए ।
नागरिक स्तरबाट स्वतन्त्र अभियान चलाइरहेका जय गोदावरीका संयोगक धनबहादुर बोगटीले गोदावरीबाट स्थायी राजधानी सार्ने विषय कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । अहिले मुख्यमन्त्री कमलबहादुर नेतृत्वको प्रदेश सरकारले धनगढीलाई नै स्थायी राजधानी तोकेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि खानेपानी कार्यालयसम्म फैलिएको १३ बिघामा प्रदेश मन्त्रालयलगायत संरचना निर्माण गर्न खोजेको छ ।








प्रतिक्रिया दिनुहोस