अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि अत्तरिया चोक, पूर्व रोड र महेन्द्रनगर रोडका नाली सफा गर्ने काम सुरु भएको हो। गोदावरी नगरपालिकाले नाली सफाइ गर्ने काम सुरु गरेको हो।
नालीमा फोहर थुपार्दा पानी जम्ने समस्या बढेको छ। अब नालीमाथि ढक्कन लगाइँने नगरपालिकाले जनाएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरसँगको समन्वयमा नालीमाथि ढक्कन लगाउने तयारी भइरहेको हो।
डिभिजन प्रमुख इन्जिनियर राजेशकुमार यादवका अनुसार, अत्तरिया बजारका मुख्य सडकका नालीमा ढक्कन राख्ने कामका लागि लटिनाथ कन्स्ट्रक्सनसँग २३ लाख रुपैयाँमा सम्झौता भइसकेको छ। यो रकमले हालका लागि ढक्कन मात्र लगाइन्छ, उनले भने।
अत्तरिया चोकमा वर्षायाममा पानी जाम हुने र सडक डुबान हुने समस्या दोहोरिँदै आएको छ। स्थानीयले पटक–पटक गुनासो गरेपछि सो क्षेत्रको नाली पूर्वतिर बग्ने गरी ड्रेन निर्माणका लागि बजेट माग गरिएको यादवले बताए।
नालीको ढक्कन नभएका कारण गत वर्ष वर्षायाममा दुई बालबालिका नालीमा खसेका थिए। ठाउँ–ठाउँमा ढक्कन फुटेका कारण सडकमा खाल्डा बनेका छन्।







प्रतिक्रिया दिनुहोस