अत्तरियाः कैलालीको गोदावरीबाट स्थायी राजधानी सार्ने षडयन्त्र विरुद्ध गोदावरीका नागरिक आक्रोसित बनेका छन् । यो षडयन्त्र विरुद्ध यहाँका जनप्रतिनिधिदेखि नागरिकसम्मै आक्रोसित भएका हुन् ।
तत्कालिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारको दुईतिहाई बहुमतबाट कैलालीको गोदावरीमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो । २०७५ असोज १२ गते प्रदेश सभाको बहुमतबाट स्थायी राजधानी घोषणा गरिएको क्षेत्रमा आवश्यक बजेट विनियोजन गरेर कार्यान्वयन गर्नुको सट्टा वर्तमान प्रदेश सरकारले राजधानी नै धनगढी सार्ने जुन षडयन्त्र गरिरहेको छ त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने स्थानीयको आक्रोस छ ।
नागरिक स्तरबाट स्वतन्त्र अभिया चलाइरहेको जय गोदावरी अभियानले त यसै क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने चारवटा सांसदलाई बोलाएर अन्तरक्रिया कार्यक्रम मात्र गरेको छैन यो विषयमा आवश्यक सहयोग गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र नै बुझाएको छ ।
राजधानीकै विषयमा बुधबार गोदावरी नगरपालिकाले पनि सर्वपक्षीय बैठक बोलाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश राजधानी फेर्नुपर्ने बहस चलाएपछि यसको चौतर्फी विरोध भइरहेको छ । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहले प्रदेशको राजधानी फेर्ने विषयमा छलफल अघि बढाएका हुन् ।
प्रदेशको राजधानी गोदावरीबाट धनगढी सार्ने चर्चापछि गोदावरी नगरपालिकाले सर्वदलीय बैठक नै चलाउनु परेको हो । बैठकमा सोही क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने कांग्रेसका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम, कांग्रेसकै प्रदेशसभा सदस्य तुलसी देवकोटा, राप्रपाकी प्रदेश सभा सदस्य खेमादेवी बिष्ट, माओवादीकी प्रदेश सभा सदस्य जानकी पौडेल कुँवर लगायत राजनीतिक दलका नेता कार्यकर्ताको सहभागी थियो । छलफलमा सहभागीले राजधानी सार्ने विषयमा असन्तुष्टि जनाउँदै उक्त कदमविरुद्ध एकताबद्ध भएर अघि बढ्नुपर्ने माग गरेका छन् ।
राजधानी सार्ने विषयमा औपचारिक रुपमा निर्णय नभएको नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले बताए । यस्तै नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले सरकारले राजधानी फेर्ने विषयमा औपचारिक प्रस्ताव गरेपछि मात्र धारणा सार्वजनिक गर्ने बताए ।
गोदावरीबाट राजधानी सार्ने चलखेल सुरु भएपछि नेकपा एमाले गोदावरी नगर कमिटिले प्रदेशसभाको दुई तिहाइ बहुमतले गरेको निर्णयअनुसार गोदावरी नगरपालिलका–२ र ४ को तेघरीमै राजधानी निर्माण गर्नुपर्ने माग गरेको छ ।
एमाले गोदावरी नगर कमिटी अध्यक्ष सन्तोषसिंह र सचिव बिक्रम विष्टले विज्ञप्ति जारी गर्दै दुई तिहाइ बहुमतले पारित भएको निर्णय बदर गर्दै अन्यत्र राजधानी सार्ने विषयमा पार्टीको सहमति नहुने उल्लेख गरेका छन् । सरकारले त्यस्तो कदम चालेमा चरणबद्ध आन्दोलनमा उत्रिने जारी विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस