अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाभित्र सञ्चालित तीनवटा सहकारी संस्था समस्याग्रस्त रुपमा देखा परेका छन् । गोदावरी नगरपालिकाभित्र ४० वटा सहकारीमध्ये तीनवटा सहकारी समस्याग्रस्त रुपमा देखा परेका छन् ।
नगरभित्र बचत तथा ऋण सहकारी ४, कृषि सहकारी २३, बहुउद्देश्यी सहकारी ६ र ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड ७ गरेर कुल ४० सहकारी संस्था सञ्चालनमा रहेको पाइएको हो ।
तर गोदावरी नगरपालिकाभित्र खुलेका तीन सहकारी संस्था भने निष्कृय अर्थात समस्याग्रस्त बन्न पुगेका छन् । गोदावरी नगरपालिका–१० मा रहेको प्रगतिशील कृषि सहकारी संस्था लिमिटेड निस्क्रिय बन्न पुगेको छ । सो सहकारीले नगरपालिकामा लेखापरीक्षण बुझाउन समेत छोडेको छ ।
त्यस्तै गोदावरी नगरपालिका–९ मा रहेको आदर्श कृषि सहकारी संस्था लिमिटेड पनि समस्याग्रस्त रुपमा देखा परेको छ । उक्त सहकारी पनि नगरपालिकामा लेखापरीक्षण प्रतिवेदन बुझाउन छोडेको छ ।
यस्तै गोदावरी नगरपालिका–१० मै रहेको गौरीशंकर कृषि सहकारी संस्था समेत समस्याग्रस्त अवस्थामा देखिएको छ । उसले पनि नगरपालिकामा लेखापरीक्षण प्रतिवेदन बुझाउन छोडेको पाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ‘ख’ मा पालिकाले सहकारी संस्था सम्वन्धि स्थानीय नीति, कानुन मापदण्डको निर्माण, कार्यान्वयन र नियमन गर्न सक्ने व्यवस्था रहेको छ । तर गोदावरी नगरपालिकाभित्र कुल ४० सहकारी संस्थामध्ये उल्लेखित तीनवटा सहकारी संस्था भने समस्याग्रस्त रुपमा रहेको पाइएको छ ।








प्रतिक्रिया दिनुहोस