सुदूरपश्चिममा हाटबजारको नाममा एक करोड लगानी, बालुवामा पानी 



धनगढी: कैलालीको बर्दगोरिया गाउँपालिका–५ मा ५ वर्षअघि नै हाटबजार निर्माण गरियो । तर, अहिलेसम्म सञ्चालनमा छैन । अघिल्लो हाटबजार अलपत्र परिरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र कैलालीले सोही गाउँपालिकामा अर्को हाटबजार बनाउन बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले त्यससहित कैलालीमा तीन र कञ्चनपुरमा एउटा हाटबजार निर्माण गर्न बजेट विनियोजन गरेको हो । प्रदेशले निर्माण गरेको हाटबजार र कृषि उपज संकलन केन्द्रहरू सञ्चालनमा रहेरनरहेको यकिन नहुँदै कृषि मन्त्रालयले चालू आर्थिक वर्षमा कृषि उपज संकलन केन्द्रहरूसमेत निर्माण गर्नेगरी बजेटको व्यवस्था गरेको छ। पहाडी जिल्लामा चारवटा संकलन केन्द्र बनाउने योजना बनाएको छ ।

हाटबजार निर्माणका लागि कैलालीको गोदावरीमा १० लाख, बर्दगोरियामा १० लाख, भजनीमा १५ लाख र कञ्चनपुरको पुनर्वासमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि उपज संकलन केन्द्र निर्माण गर्न अछामको रामारोशनमा १५ लाख, डोटीको शिखरमा १० लाख, बाजुराको बूढीनन्दामा १५ लाख र बैतडीको पुर्चौंडीमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि ज्ञान केन्द्र कैलालीले निर्माण गरिएको हाटबजार सञ्चालन नभएपछि चालू वर्षदेखि हाटबजार सञ्चालनका लागि अनुदान दिन ‘हाटबजार सञ्चालन सहयोग कार्यक्रम’का लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।प्रदेशभित्र हाटबजार २८ र कृषि उपज संकलन केन्द्र ६३ वटा निर्माण गरिएको छ ।

किसानको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले प्रत्येक स्थानमा १० देखि २० लाख रुपैयाँसम्म खर्च गरेर ती हाटबजार र संकलन केन्द्र निर्माण गरिएको हो । तर, निर्माण गरी हस्तान्तरण गरिएका अधिकांश हाटबजार र संकलन केन्द्रहरू सञ्चालन हुन सकेका छैनन् । 

मुख्य बजार क्षेत्रभन्दा टाढा लगेर हाटबजारका लागि भौतिक संरचना बनाइएका कारण पनि चल्न नसकेको सरोकारवालाहरू बताउँछन् । गत भदौमा प्रदेशसभाको सार्वजनिक लेखा समितिले कैलालीका ६ वटा हाटबजारको अनुगमन गर्दा पाँचवटा हाटबजार सञ्चालनमा नरहेको भेटिएको थियो ।

समितिले सञ्चालनमा नरहेका हाटबजारहरू सञ्चालन गर्ने व्यवस्था मिलाई सञ्चालन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, समितिले समेत मन्त्रालयले सो निर्देशन कार्यान्वयन गरे नगरेको विषयमा अनुगमन गरेको छैन । समितिका तत्कालीन सभापति तथा प्रदेशसभा सदस्य विक्रमसिंह धामीले कार्यालयमा सोधेर जानकारी दिने बताए ।

आर्थिक वर्ष २०७६/७७ मा कृषि ज्ञान केन्द्र कैलालीले हाटबजार निर्माण गर्न समिति गठन गरी १ करोड १२ लाख रुपैयाँ खर्च गरी ६ वटा हाटबजार बनाएको थियो । यसरी बनाइएको हाटबजार स्थानीय बजार व्यवस्थापन समितिले सञ्चालन गर्ने प्रदेशको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन ऐन, २०७६ ले व्यवस्था गरेको छ । स्थानीय तहको कृषि शाखा प्रमुख सदस्यसचिव र स्थानीय किसान तथा कृषि उपज विक्रेता सदस्य रहनेगरी बनेको स्थानीय कृषि बजार व्यवस्थापन समितिले ती हाटबजार र संकलन केन्द्र सञ्चालन गर्ने व्यवस्था छ ।

यसरी गठन भएको समितिले नै हाटबजार तथा संकलन केन्द्र सञ्चालनको जिम्मेवारीमा रहेको प्रदेशका कृषि विकास निर्देशक खगेन्द्र शर्माले बताए । ‘जिल्लाबाट कृषि ज्ञान केन्द्रका कर्मचारी गएर हाटबजार सञ्चालन गर्न सम्भव छैन,’ उनले भने, ‘सञ्चालनको जिम्मेवारी ऐनमा पनि स्थानीय तहलाई दिइएको छ, प्रदेशले माग भएको ठाउँमा बनाउन सहयोग गरिदिने हो ।’

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि