विष्णु जोशी: एक अधिकृत तहको जागिरे हुँ म । सरकारी कुर्सी, निश्चित तलब र सम्मानित परिचय यी सबै मैले वर्षौँको पढाइ, श्रम र धैर्यको परिणामस्वरूप पाएको हुँ । तर मेरो मनमा एउटा प्रश्न दिनहुँ सल्किन्छ
यदि देश नै डुब्यो भने यो कुर्सी के कामको ?
नेपालको अर्थतन्त्र धरापमा छ । विदेशी मुद्राको भण्डार घट्दै छ । उत्पादन शून्यतिर झुक्दै छ । श्रम, सीप र सपना बेचेर हामी रेमिट्यान्सको अक्सिजनमा बाँचेका छौँ । तर यो अक्सिजनको ट्याङ्की सीमित हो ।
श्रीलंका: एउटा चेतावनी
केही वर्षअघि श्रीलंका दक्षिण एसियाको टुरिज्म हब थियो । सुन्दर समुद्रकिनार, बढ्दो व्यापार, विशाल विकास परियोजना अनि सबैले देख्थे श्रीलंका उकालो लाग्दैछ । तर भित्रभित्रै ऋणको पहाड, अनुत्पादक खर्च, विदेशी मुद्रा संकट र नेतृत्वको गलत निर्णयले २०२२ मा देशलाई भोकमरी र विद्रोहको खाडलमा धकेल्यो ।
बैंकहरूमा पैसा निकाल्न नपाइने, पेट्रोलको लाइन किलो-किलोमिटरसम्म लामो, औषधि नपाउने अवस्था आयो । त्यो दिन, सरकारी जागिरेलाई तलब मात्र होइन, पदको मूल्य पनि गुम्यो ।
ग्रीस: ऋणको दलदल
युरोपकै सभ्य देश ग्रीस २०१० मा ऋणको चक्रव्यूहमा फस्यो । सरकारसँग ऋण तिर्नै नसक्ने अवस्था आयो । सरकारी जागिरेको तलब काटियो, पेन्सन घटाइयो, हजारौँलाई जागिरबाट निकालियो । जसले आफ्नो ूस्थायी जागिरू मा भरोसा गरेका थिए, उनीहरू सडकमा बेरोजगार बने ।
भेनेजुएला: पेट्रोलमा डुबेको देश
विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको भेनेजुएला २०१४ पछि अर्थतन्त्रमा डुब्यो । मुद्रास्फीति यति बढ्यो कि तलबले बिहानको खाना मात्र पुग्ने भयो । सरकारी कर्मचारी पनि पेट्रोलको लाइनमा घण्टौँ बस्न बाध्य भए । राजनीतिक अस्थिरता, भ्रष्टाचार र गलत आर्थिक नीति देशको पेट्रोल पनि जलाएर खाक पारिदियो ।
नेपालको यथार्थ: हामी कुन मोडमा छौँ ?
आज नेपाल पनि यही बाटोमा छ । उत्पादन छैन, आयात अति छ । व्यापार घाटा वर्षेनी बढ्दो छ । युवाशक्ति पलायन, ८० लाखभन्दा बढी नेपाली विदेशमा छन् ।
यसकाे मुख्य कारण राजनीतिक नेतृत्व असफल, नीतिभन्दा पदमा लोभ । संवेदनशील क्षेत्रमा अव्यवस्था, शिक्षा, स्वास्थ्य, ऊर्जा सबैमा संकटको संकेत । यदि यस्तो अवस्था २–३ वर्षमै नफेरियो भने, हाम्रो जागिर पनि श्रीलंकाको कुर्सी जस्तै अर्थहीन हुनेछ ।
व्यक्तिगत प्रश्न, सामूहिक उत्तर
म जागिरको माया गर्छु, तर देशको माया ठूलो छ । जागिरले मलाई मात्र पाल्छ, तर देश बाँच्यो भने मात्र मेरो जागिर, मेरो परिवार, मेरो भविष्य सुरक्षित हुन्छ । देश डुब्दै गर्दा कुर्सीको मोहमा बस्नु भनेको डुबिरहेको डुङ्गामा आरामदायी सीट खोज्नु जस्तै हो ।
अब के गर्ने ?
देश बचाउन मूलनीति सुधार अनिवार्य छ । उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण, भ्रष्टाचारमाथि कडा कानुनी प्रहार, शिक्षा र सीपलाई उद्योगसँग जोड्ने नीति र विदेश पलायन रोक्ने दीर्घकालीन रोजगारी कार्यक्रम अहिलेको आवश्यकता हो । तर यी सुधार नेतृत्वको इच्छाशक्ति बिना सम्भव छैन । र नेतृत्व बदल्ने बाटो राजनीति हो ।
श्रीलंका, ग्रीस र भेनेजुएलाका कर्मचारीहरूले पनि सुरुमा यस्तै सोचे, मेरो जागिर सुरक्षित छ । तर जब देश डुब्यो, जागिर पनि डुब्यो । त्यसैले म आज द्वन्द्वमा छु । जागिरको मोहमा देश डुबिरहेको हेर्ने कि देश बचाउन मैदानमा उत्रिने ? यो प्रश्न मात्र मेरो होइन, हरेक सचेत नागरिकको हो ।








प्रतिक्रिया दिनुहोस