वीरेन्द्र भट्ट, अत्तरिया: संघीय सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा ‘धनगढी–अत्तरिया मेगासिटी’ बनाउने बडो महत्त्वाकांक्षी योजना सार्वजनिक गर्यो । तर ‘मेगासिटी’ भनेको के हो ? कम्तीमा एक करोड जनसङ्ख्या बसोबास गर्ने व्यवस्थित महानगरलाई ‘मेगासिटी’ भन्ने गरिएको छ । तर अहिलेसम्म ‘मेगासिटी’ योजना र निर्माणको प्रक्रिया भने अगाडि बढ्न सकेको छैन्।
कस्तो हुन्छ ‘मेगासिटी’ ?
साना सहरलाई गाभेर ‘मेगासिटी’ बनाइन्छ । ‘मेगासिटी’मा सबै सुविधा हुन्छन् । विकसित मुलुकमा एउटा मेगासिटी’कम्तीमा एक करोड मानिस बस्छन् । न्यू योर्क, साङ्घाइ, टोक्यो, बेइजिङ, ढाका, मुम्बइजस्ता धेरै आवादी भएका महानगरलाई ‘मेगासिटी’मान्ने गरिएको छ ।
‘मेगासिटी’मा एउटा अत्याधुनिक शहरमा हुने सबै खालका पूर्वाधारहरु हुने भएकोले औद्योगिक क्षेत्र, बजार, बसोबास, वित्तीय क्षेत्र व्यवस्थित रुपमा निर्माण हुन्छन् । भविष्यमा जोडिन सक्ने नगरहरूको एकीकृत तथा योजनाबद्ध सहरीकरण विकासका लागि भन्दै ‘मेगासिटी’ निर्माणको अवधारणा ल्याइएको भए पनि यो योजना केबल घोषणामा मात्र सिमित छ ।
मेगा फुडपार्क पनि घोषणामै सिमित
संघीय सरकारले गत आर्थिक वर्षको बजेटमा यहाँ मेगा फुडपार्क बनाउने भन्दै नीति, कार्यक्रम तथा बजेटमै राखेको थियो । तर त्यो योजना केबल बजेटमा मात्र सिमित बन्न पुगेको छ । योजना बनाउने अनि ती योजना बजेटमा पनि राख्ने तर कार्यान्वयन नगर्ने मुलुकको नियति नै बनेको छ ।
विगतका वर्षहरूमा सुदूरपश्चिममा मोनोरेल, मेगा सिटी बनाउने लगायतका कार्यक्रम समावेश गरेको भए पनि अहिलेसम्म ती कुनै योजना कार्यान्वयन भएका छैनन् । गत वर्ष सरकारले मेगा फुडपार्क बनाउने कार्यक्रम राखेको थियो । तर अहिलेसम्म कुनै काम भने भएको छैन ।
यस्तै गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई ३ सय शय्या क्षमताको मेडिकल कलेज र प्राज्ञिक कार्यक्रम आर्थिक वर्ष २०८१/८२ मै सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख थियो ।
सरकारले गेटामा भवन निर्माण गर्न करिब ७ अर्ब खर्च गरेको छ । ६ सय शय्याको अस्पताल सञ्चालन गर्ने पूर्वाधार निर्माण भइसकेको अवस्थामा तीन सय शय्याको विषयमा नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो ।
सुदूरपश्चिममा विगतका सरकारहरूले हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी उद्योगिक क्षेत्र, दैजी–छेला औद्योगिक क्षेत्र, लालपुर–हरैया विशेष आर्थिक क्षेत्र बनाउने भनेर कार्यक्रम ल्याएको देखिन्छ । तर कार्यान्वयनमा केही पनि देखिएको छैन् ।








प्रतिक्रिया दिनुहोस