अत्तरिया: कञ्चनपुरमा २ सहकारी र एक गैरसरकारी संस्थाबाट साढे तीन सय किसान ठगीएको विषय बाहिर आएको छ । ५० प्रतिशत अनुदानमा कृषि उपकरण दिने भन्दै दुईवटा सहकारी र सुरो नेपाल नामक गैरसरकारी संस्थाले जिल्लाको लालझाडीका साढे तीन सय किसानको अढाई करोड ठगी गरेको विषय बाहिर आएको हो ।
सुरो नेपालमार्फत पावरटिलर, पानी तान्ने मोटर, घाँस काट्ने चारा मेसिन दिलाउने भन्दै अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले रकम उठाएका थिए । एक वर्षसम्म पैसा वा उपकरण दुवै नपाएपछि किसानले सहकारीमा तालाबन्दी नै गरिदिएका छन् ।
गत वर्ष अनमोलले ११० किसानबाट ४८ लाख ४६ हजार र दोदा साना किसान सहकारीले अढाई सय किसानबाट एक करोड ९३ लाख रुपैयाँ संकलन गरेका थिए । कृषि सामग्री खरिदका लागि कृषिउपज बिक्री–वितरणदेखि सहकारी, बैंक, आफन्तबाट ऋण निकालेर सहकारीलाई अग्रिम पैसा बुझाएका किसान बिचल्लीमा छन् ।
पटक–पटक पैसा फिर्ता माग्दा पनि नपाएपछि तालाबन्दी गरिएको लालझाडीका किसान अर्जुन चौधरीले बताए ।अर्का किसान खडक रानाले आफूले अनमोल किसान सहकारीमै गएर रकम बुझाएको बताए । आधुनिक कृषि औजार खरिद गरेर कृषि गर्न खोजेको पनि ठगिएपछि समस्यामा परेको दुखेसो उनले पोखे ।
स्थानीय रतनसिंह रानाले सुरो नेपालले किसानबाट लाखौँ रकम संकलन गरेर आफूहरूको बिचल्ली बनाएको बताए । उनले किसानलाई कृषि सामग्री दिन्छु भन्दै किसानबाट लाखौँ रकम संकलन गरेर केही मान्छे विदेश भ्रमणमा घुम्न गएको बताए । किसानबाट संकलन भएको रकम केही सुरो नेपाल लालझाडीका स्थानीय एजेन्ट, सहकारीदेखि व्यक्तिहरूले दुरुपयोग गरेको दाबी गरेका छन् ।
एनजीओका अध्यक्षसहित दुईजना जेलमा
कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले ठगी मुद्दामा अनुसन्धान भइरहेको बताए । उनका अनुसार सुरो नेपालका अध्यक्ष सुशीला खड्का, सहयोगी सुनिता चौधरी पुर्पक्षका लागि कारागारमा छन् । सहकारीबाट टीकाराम चौधरी र नवराज ओझाविरुद्ध पनि उजुरी परेको थियो ।
‘संलग्नमाथि अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रवक्ता बोहराले भने । लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले आफ्नो पालिकामा रहेका किसान ठग्नेमाथि कानुनी कारबाही र चलअचल सम्पत्तिबाट किसानको रकम फिर्ता दिलाउनुपर्ने बताए ।
किसानबाट पैसा उठाएर एनजिओको खातामा
अनमोल र दोदा साना किसान सहकारीका व्यवस्थापकहरूले किसानबाट संकलन भएको रकम सुरो नेपाल नामक एनजिओको खातामा जम्मा गरेको बताएका छन् । अनमोल कृषि सहकारीका व्यवस्थापक खड्क रानाले ६३ किसानबाट पावरटिलरका लागि ७५ हजार र ४८ किसानबाट पानी तान्ने मोटरका लागि १२ हजारका दरले संकलन भएको ४८ लाख ४६ हजार रुपैयाँ सुरो नेपालकै खातामा पठाइदिएको बताए । उनले सहकारीले किसानले दिएको रकम हिनामिना नगरेको दाबी गर्दै ४० वटा पानी तान्ने मोटर मात्रै आएको बताए ।
दोदा साना किसानका व्यवस्थापक गणेश रानाले साढे दुई सय किसानबाट संकलन भएको एक करोड ९३ लाख सुरो नेपालको खातामा जम्मा गरेको बताए । पावरटिलरका लागि ७५ हजार, औषधि छर्किने ट्यांकीका लागि दुई हजार, पानी तान्ने मोटरका लागि १२ हजार, घाँस काट्ने मेसिनका लागि २० हजार र रोटाभेटरका लागि ४५ हजारका दरले किसानबाट रकम संकलन भएको उनको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस