अत्तरिया: सुदूरपश्चिममा साढे दुई वर्षको अवधिमा ३८ जना सांसद मन्त्री बनेका छन् । यो अवधिमा चार सरकार बनेर चार मुख्यमन्त्री बनेका छन् ।
यहाँको प्रदेश सभा ५३ सदस्यीय छ । तर, चार सरकारमा मुख्यमन्त्रीसहित ३८ जना मन्त्री बनिसकेका छन् । ५३ सांसदमध्ये ३२ जनाले मन्त्री बन्ने अवसर पाइसकेका छन् । २०७९ पुस २७ गते एमाले नेता राजेन्द्रसिंह रावल एमालेसहित माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
तर, नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि उनी नेतृत्वको सरकार एक महिनामै ढल्यो । त्यसपछि २६ माघमा कांग्रेस नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भए । तर, एमाले र माओवादीसहितको गठबन्धन बनेपछि माओवादी २३ फागुनमा सरकारबाट बाहिरियो ।
विश्वासको मत पाउने स्थिति नबनेपछि मुख्यमन्त्री शाहले २२ चैत २०८१ मा राजीनामा दिए । त्यसपछि ६ वैशाख २०८२ मा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी मन्त्रीको कुर्सीमा पुगे । तर, केन्द्रमा कांग्रेस–एमाले गठबन्धन बनेपछि उनी नेतृत्वको सरकार पनि तीन महिनामै ढल्यो ।
सोडारीले साउनमा राजीनामा दिएपछि कांग्रेसका कमलबहादुर शाह दोस्रोपटक मुख्यमन्त्री बनेका छन् । उनले नौ सदस्यीय मन्त्रिपरिषद् हाँकिरहेका छन् ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्रीले नै राखेकाले जुनसुकै वेला पनि मन्त्री थपिने सम्भावना छ ।
प्रदेश सभाको पहिलो कार्यकालमा भने मुख्यमन्त्री त्रिलोचन भट्टले पाँचवर्षे पूरै अवधि सरकार चलाएका थिए । यसरी सुदूरपश्चिम प्रदेश सरकार राजनीतिक भागबन्डा मिलाउने थलो बन्न थालेको छ ।








प्रतिक्रिया दिनुहोस