अत्तरिया: सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न विश्वविद्यालयसम्बन्धी ऐन गत असारमा जारी भइसकेको छ । तर, सहकुलपति नियुक्त गर्ने, गेटामा सानो आकारमा भए पनि विश्वविद्यालयको इकाइ वा कार्यालय राख्नेलगायत काम भएका छैनन् । विश्वविद्यालय कहिलेबाट सञ्चालन हुन्छ भन्ने यकिन छैन ।
एउटा पनि मेडिकल कलेज नभएको सुदूरपश्चिममा सेती र महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयमातहत ल्याएर भए पनि यसै वर्षबाट चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्नुपर्ने माग स्थानीयको छ । विश्वविद्यालयमा प्रधानमन्त्री उपकुलपति र शिक्षामन्त्रीसहित दुईजना सहकुलपति रहने व्यवस्था गरिएको छ ।
ऐन जारी भएको ३० दिनपछि पूर्वाधार निर्माण समिति खारेज हुने र त्यहाँको सम्पूर्ण सम्पत्ति विश्वविद्यालयको हुने व्यवस्था ऐनमा छ । जसअनुसार ४ साउनदेखि समिति खारेज भएको छ । तर, समिति खारेज भइसकेको, विश्वविद्यालयका पदाधिकारी नियुक्ति नभएको र कार्यालयसमेत नरहेको अवस्थामा उक्त संरचना कसले हेर्ने भन्ने अन्योल छ ।
शिक्षा मन्त्रालयले पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेपछि दुई वर्षयता पूर्वाधार विकास समितिको कार्यकारी निर्देशकमा शिक्षा विकास तथा समन्वय इकाइ कैलालीको प्रमुखलाई तोकेको थियो । इकाइ प्रमुख ईश्वरीप्रसाद ज्ञवालीले समिति खारेज भइसकेको र विश्वविद्यालयको अंग पनि आइनसकेकाले अहिले ‘ग्याप’को अवस्था रहेको बताए ।
‘अहिले ‘ग्याप’ सिर्जना भएको छ । त्यहाँको सम्पत्ति सम्हाल्ने र विश्वविद्यालयमा छिटोभन्दा छिटो पदाधिकारी नियुक्ति गर्ने दायित्व पनि शिक्षा मन्त्रालयको हो,’ उनले भने । गेटामा १ कात्तिक २०८० देखि स्वास्थ्य मन्त्रालयअन्तर्गत ५० शड्ढयाको अस्पताल सञ्चालन भइरहेको छ । त्यसमा पनि जनशक्ति र उपकरणको कमी छ । सरकारले ०६६ मा गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । तर, मेडिकल कलेजका नाममा २०७३ देखि मात्र पूर्वाधार निर्माणको कामले गति पाएको थियो ।








प्रतिक्रिया दिनुहोस