कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटाका ८२८ परिवारसँग आफ्नो नाममा जग्गा छैन । सो नगर क्षेत्रका भूमिहीन परिवार अधियाँ खेतीमै निर्भर छन् । बटैयामा खेती गर्ने किसानले र जग्गाधनीले उत्पादन भएको अन्न आधा आधा बाँडेर लिने गरेका छन् ।
जग्गा थोरै हुँदा वर्षभरी खान नपुग्ने परिवारले अधियाँ खेती लगाउने गरेका छन् । अधियाँ खेती गर्ने कार्य भने धेरै वर्षअघिदेखि चल्दै आएको छ । जग्गाधनीले अधियाँ लगाउने किसानले खेती राम्ररी नलगाएबीचमै छुटाउने कार्य हुँदै आएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सुदूरपश्चिम प्रदेश सचिव रामबहादुर चुँनाँराले बताए । जसका कारण अधियामा जीविका चलाउने परिवार भने समस्यामा पर्ने गरेको उनी बताउछन् ।
मञ्चले सङकलन गरेको तथ्याङकअनुसार नगरपालिकामा खेती गर्ने जमिन थोरै छ । जमिनमा आश्रित जनसङ्ख्या अत्यधिक छ । नगरपालिकाको कूल १६२ दशमलव ७५ वर्गकिलोमिटर क्षेत्रफलमध्ये केवल आठ दशमलव ४२ वर्ग किलोमिटर जमिन मात्रै खेतीयोग्य छ । बाँकी सबै क्षेत्रमा वन, बस्ती, सडक, खोलानाला, धार्मिक क्षेत्र र अन्य प्रयोगको जमिन रहेको छ ।
नगरपालिकामा १२ हजार ५८ घरधुरीमध्ये ८२८ परिवारसँग अझैपनि आफ्नो नाममा जग्गा छैन । पुरुषको जग्गामा स्वामित्व ९४ प्रतिशत छ भने, महिलाको नाममा पाँच दशमलव आठ प्रतिशत जग्गाको स्वामित्व छ । लैङ्गिक समानताका चर्का कुरा गरिए पनि व्यहारमा भने महिलाको सम्पती माथिको अधिकार सीमित रहेको मञ्चका सचिव चुँनारा बताउछन ।
भूमि अधिकार मञ्चका अनुसार, हालसम्म नगरपालिकाबाट एघार हजार ८५४ अव्यवस्थित बसोबासी, २१५ भूमिहीन दलित र १४८ सुकुम्बासीले जग्गा स्वामित्वका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगमा निवेदन दिएका छन् । निवेदन दिएकामध्ये केही वडाका अव्यवस्थीत बसोबासीको जग्गा नापजाँचको कार्य भएको छ भने केही हुने क्रममा रहेको छ । भूमिहीन दलित र सुकम्बासीले निवेदन दिए पनि कुनै पनि कार्य अगाडि बढन सकेको छैन ।








प्रतिक्रिया दिनुहोस