धनगढी: कैलाली उद्योग वाणिज्य सङ्घको आगामी नेतृत्वका लागि दुई समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। निजी क्षेत्रको छाता संगठन कैलाली उद्योग वाणिज्य सङ्घको आगामी नेतृत्वका लागि दुईवटा समूह चुनावी मैदानमा उत्रिएका छन्।
कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व महासचिव रूपेश स्वार र वर्तमान उपाध्यक्ष पुष्कर ओझाले छुट्टाछुट्टै प्यानल घोषणा गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
कोको छन् पुष्कर ओझाको प्यानलमा?
आगामी निर्वाचनलाई लक्षित गर्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार पुष्कर ओझा नेतृत्वको प्यानलले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। “व्यवसायीको हित, सबल नेतृत्वको जीत” नारासहित ओझा समूहले शनिबार धनगढीमा पत्रकार सम्मेलनमार्फत १५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्रमा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै “मेडइन सुदूरपश्चिम” अभियान सञ्चालन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा “सुदूरपश्चिम एक्सपो” आयोजना गर्ने प्रतिबद्धता राखिएको छ। साथै, व्यवसायलाई आकर्षित गर्न भारत र नेपालका उद्योगी, लगानीकर्तालाई लक्षित गर्दै लगानी सम्मेलन गर्ने घोषणा पनि गरिएको छ।
प्यानलका उम्मेदवारहरूले आफ्नो घोषणापत्र व्यवसायीको आवश्यकता र समस्यालाई सम्बोधन गर्ने खालको रहेको दाबी गरेका छन्। उनीहरूले युवालाई उद्यमशीलता, रोजगारी र सीप विकासमार्फत आत्मनिर्भर बनाउन योगदान गर्ने बताएका छन्।
ओझा प्यानलले व्यवसायीलाई निःशुल्क बीमा सुविधा, विद्युत् तथा संकट प्रभावित व्यवसायीका लागि राहत कार्यक्रम ल्याउने बताएको छ। घर–पसलमा सुरक्षा प्रणाली जडान गर्न तथा व्यवसायीलाई डिजिटलाइज गर्ने योजना ल्याउने ओझा प्यानले प्रतिबद्धता सार्वजनिक गरेको छ।
नयाँ कार्यसमितिका लागि पुष्करराज ओझाको नेतृत्वमा प्यानल खडा गरिएको छ। प्यानलमा वरिष्ठ उपाध्यक्षमा ओम बहादुर बिष्ट उपाध्यक्ष उद्योगतर्फ वासुदेव भट्ट, उपाध्यक्ष एसोसिएटतर्फ मनोज अग्रवाल, उपाध्यक्ष वाणिज्यतर्फ गगनराज केसी, उपाध्यक्ष वस्तुगततर्फ भीमराज ओझा महासचिव दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत र सचिवमा कृष्णकुमारी बिष्टको उम्मेदवारी रहने भएको छ।
ओझा प्यानलमा सदस्यमा अजय पाण्डेय, सुरेश सापकोटा, बमबहादुर कुँवर, ध्रुबराज दाहाल, कमला भट्टराई, पदमबहादुर सिंह, प्रजापति जोशी, रेखा बास्तोला, सुरज बहादुर रैका, तर्कराज भट्ट, टेकबहादुर खड्का, अनुप भण्डारी र बिन्दु सुनारको नाम समावेश गरिएको छ।
स्वारँले गरे प्यानल घोषणा
कैलाली उद्योग वाणिज्य संघको निर्वाचन भदौ २८ गते हुनेछ। स्वाँर समूहले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्यानलसँगै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। “व्यवसाय र व्यवसायीको सुरक्षास् हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ स्वाँर प्यानल चुनावमा होमिएको छ।
“व्यवसायीको मुलुकमा बढ्दो योगदानलाई मुलुकको नीति निर्माण तहसम्म पुगाउने मात्र नभई, यो हाम्रो प्रतिवद्धता हुनेछ” प्रतिबद्धतापत्रमा भनिएको छ, ’व्यवसायीलाई दैनिक क्रियाकलापमा देखिने कठिनाइ, समस्या र चुनौतिहरूको समाधानलाई नै आफ्नो पहिलो कार्यसूचीका रुपमा लिनेछौं। कैलाली उद्योग वाणिज्य संघलाई अझ सशक्त बनाउन र संघलाई थप अगाडि बढाउन अमूल्य मतबाट जिम्मेवारी बहन गर्ने अवसर दिनुहुनेछ भने व्यवसायीको साझा आस्था कायम पाउने छौं।
व्यवसाय र व्यवसायीको हकहितको लागि कानुनी तथा प्रशासनिक समस्याहरूको स्थायी विशेष पहल, स्टार्टअप, इनोभेसन र क्रियसन लगायत नयाँ उद्यमशील उर्जासाथ युवा व्यवसायीहरूको लागि कोषसमेत संचालन गर्ने, विपद् व्यवस्थापन कोषको स्थापना र उद्योग व्यवसायीहरूको चाहनाअनुसार विधान संशोधन र परिमार्जन गर्ने, बैंक तथा वित्तीय संस्था, कर, भन्सार, बीमा लगायतका हाल विद्यमान समस्याको प्रभावकारी समाधानका लागि ठोस पहल गर्ने लगायतका प्रतिबद्धता स्वाँर प्यानलको छ।
स्वाँरको प्यानलबाट केशवराज जोशी वरिष्ठ उपाध्यक्ष लड्ने भएका छन्। उनी वर्तमान उपाध्यक्ष पनि हुन्। यस्तै, उपाध्यक्ष उद्योगमा लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा अनिलकुमार भुजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी र वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु उम्मेदवार रहेका छन्। स्वाँर प्यानलबाट महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलक बोहरा र सचिवमा प्रकाशकुमार चन्द स्वाँर प्यानलबाट उम्मेदवार रहेका छन्।
सदस्यमा रुपेश खड्का, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेमबहादुर धामी, भरतबहादुर थापा, नेत्रप्रसाद तिवारी, देवराज जोशी, तेज बम, शुभशंकर ठाकुर, दिपेश राठोर, अमर चोखाल, प्रमिला पाठक र मन्जु भट्ट उम्मेदवार छन्।
घोषणा कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष पुष्पराज कुँवर पनि सहभागी थिए। स्वाँर २०७५ पुसमा भएको संघको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए। उनी उक्त निर्वाचनमा पुष्पराज कुँवरसंग ७९ मतले पराजित भएका थिए।








प्रतिक्रिया दिनुहोस