एमालेका केन्द्रीय सदस्य ऐन महरलाई फरार प्रतिवादी बनाएर विद्युतीय कारोबार ऐनअनुसारको मुद्दा दायर गरिएको छ। यसअघि बोलाएको समयमा उपस्थित हुने सर्तमा उनलाई हाजिरी जमानीमा छाडिएको थियो। उनीविरुद्ध सोमबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ।
महर ११ भदौमा पक्राउ परेकोमा सोही दिन बयान लिएर उनलाई छाडिएको थियो। हाजिरी जमानीमा छाड्दा खोजेको समयमा उपस्थित हुने सर्तमा आफन्त वा कानुन व्यवसायीको जिम्मा लगाएर मात्र छाडिन्छ ।
तर, मुद्दा दायर गर्ने वेलामा महरलाई अदालतमा उपस्थित गराइएन। महर उपस्थित नभएपछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले बताए।
फेसबुक लाइभमार्फत आफुलाई चरित्रहिन भनेर आरोप लगाएको भन्दै एक युवतीले उनीविरुद्ध साइबर अपराधको कसुरमा जाहेरी दिएकी थिइन्। सुरुमा प्रहरीले जाहेरी दर्ता नगरेपछि सरकारी वकिलमार्फत जाहेरी दर्ता गरियो।
त्यसपछि थुनामा समेत नगरी एकैदिनमा अनुसन्धान टुंगाएको विषयमा प्रश्न उठेको थियो। सत्ताको आडका कारण उनी एकदिन पनि थुनामा बस्नुनपरेको प्रहरी अधिकारी बताउँछन्।
पीडित महिलाले नेता महरविरुद्ध बलात्कारको समेत जाहेरी दिएकोमा त्यसलाई पनि सरकारी वकिल कार्यालयले तामेलीमा राखेको छ।








प्रतिक्रिया दिनुहोस