अत्तरिया: माओवादी सशस्त्र द्वन्द्वमा धेरै विस्थापित भए, तिनै विस्थापितको ओइरो लाग्दा अत्तरियाचाँहि विस्तारित भयो। भारत र चीन दुवैतिरको व्यापारिक मार्गमा पर्ने र सुदूरपश्चिम पहाडको प्रवेशद्वार भएकाले अत्तरिया सानोतिनो बजार त उहिलेदेखि थियो। तर, २०६० को दशकमा यसको विस्तार द्रुत गतिमा भयो।
बसाइसराइका कारण दुई दशकअघि दर्जनजति पक्की घर देखिने अत्तरियामा अहिले एक हजार भन्दा बढी पक्की घर ठडिएका छन्। व्यापारिक प्रयोजनका ठूलाठूला घर ठडिएका छन, ठडिने क्रम जारी छ। पूर्वपश्चिम राजमार्गले अत्तरियालाई पहिलोचोटी फस्टाउने मौका दियो। पहाडका मान्छेलाई राजमार्गमा यात्रा गर्न पुग्नुपर्ने जक्सन अत्तरिया भयो।
कैलाली भन्सारबाट भित्रिने सामान पहाडी भागमा ढुवानी गर्ने मार्गमा पर्छ, अत्तरिया। ६० को दशकमा उत्तरतिर जाने भीमदत्त राजमार्ग बनेपछि अत्तरियाको वृद्धि ह्वात्तै भयो। भीमदत्त राजमार्गले बैतडी, डँडेल्धुरा, दार्चुला, डोटी, अछाम, बजाङ र बाजुराको प्रवेशद्वार अत्तरियालाई बनायो।
यसपछि व्यापारिक मार्गमा परे पनि धनगढीको छाया“मा परेको अत्तरियाले गति पायो। माओवादी द्वन्द्वका कारण पहाडमा थातथलो छाड्नेका लागि आकर्षक ठाउँ अत्तरियानै बन्यो। सेना र सशस्त्र प्रहरीको बाहिनीका कारण अत्तरिया सुरक्षित ठानियो। सेना र सशस्त्र प्रहरीका क्षेत्रीय कार्यालयका साथै ट्राफिक प्रहरीको क्षेत्रीय प्रहरी कार्यालय स्थापना हुँदा अत्तरियाको बजार थप चम्कियो।
बसाइसराइ गर्नेका कारण सुदूरपश्चिममै जग्गाको कारोबार बढी छ र जग्गा महँगिएको छ अत्तरियामा। प्रदेशको स्थायी राजधानी पनि तेघरी अत्तरियामै तोकिएपछि यहाँ घरजग्गाको कारोबार बढेको छ। तर २०७५ असोज १२ गते यहाँ स्थायी राजधानी तोकिएको भए पनि अहिलेसम्म कार्यान्वयन भने हुन सकेको छैन।
जनसंख्या वृद्धिसँगै व्यापापारिक गतिविधिका साथै शिक्षा, स्वास्थ्य र पूर्वाधारमा फड्को मार्ने क्रम चलिरहेको छ। निजी क्षेत्रले लगानी गरेका गुणस्तरीय स्कुलरकलेज छन्। अत्तरियामा तारे होटेल नभए पनि सुविधासम्पन्न होटेल पर्याप्त छन्। पहाडतिर लाग्नपर्ने कतिपय यात्रु गर्मीको बेला धनगढीभन्दा थोरै सितल हुने भएकाले अत्तरियामा रात बिताउन खोज्छन्।
सरकारी लगानीको रोजिन टर्पन्टाइन उद्योग अहिले निजी क्षेत्रले सञ्चालन गरिरहेको छ। सुदूरपश्चिम पहाडका लागि अत्यावश्यक वस्तु आपूर्ति गर्ने बजार भएकाले अत्तरियामा खाद्यान्न, लत्ताकपडालगायतका व्यापार बढी चम्किएको छ। खाद्य उद्योगमा लगानी गर्ने क्रम बढेको छ।








प्रतिक्रिया दिनुहोस