धनगढी: धनगढी उपमहानगरपालिकामा रहेको त्रिभुवन माध्यमिक विद्यालय, बोराडाँडीले यस वर्षको एसईई परीक्षामा उल्लेखनीय सुधारसहित उत्कृष्ट नतिजा हासिल गरेको छ। गत वर्ष ३५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएको विद्यालयले यसपटक ७८.९५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर सामुदायिक शिक्षा क्षेत्रमै उदाहरण पेश गरेको हो।
यो वर्ष धनगढी उपमहानगरपालिकाका २६ सामुदायिक विद्यालयबाट ९५९ विद्यार्थी एसईईमा सहभागी भएका थिए। तीमध्ये ५२८ जना मात्रै ग्रेडेड हुन सफल भए भने ४३१ जना नन-ग्रेडेड भएका छन्। यस्तै अवस्थामा त्रिभुवन माविले ७८.९५ प्रतिशत उत्तीर्ण दर सहित नगरमै उल्लेखनीय स्थान ओगटेको हो।
अघिल्लो वर्ष छैटौँ स्थान, यस वर्ष दोब्बर सुधार
गत वर्ष नगरस्तरीय मूल्याङ्कनमा छैटौँ स्थानमा मात्र रहेको विद्यालयले यस वर्ष दोब्बरभन्दा बढी सुधार गर्दै ७८.९५ प्रतिशत नतिजा ल्याएको छ। विद्यालयका प्रधानाध्यापक सीताराम अवस्थीका अनुसार, यो सुधार विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको सामूहिक प्रयासको परिणाम हो।
अशोक अवस्थी: सामुदायिक विद्यालयतर्फ ४.० जिपिए ल्याउने एकमात्र विद्यार्थी
कैलाली जिल्लामा यस वर्ष सात जनाले ४.० जिपिए ल्याएका छन्, जसमध्ये त्रिभुवन माविका अशोक अवस्थी सामुदायिक विद्यालयतर्फ एकमात्र विद्यार्थी हुन्। विद्यालयबाट ७६ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए, जसमा ६० जना ग्रेडेड भएका छन्।
यो वर्ष त्रिभुवन माविका ६ जनाले "ए प्लस" १७ जनाले "ए" २३ जनाले "बी प्लस" तथा तीन जनाले "सि प्लस" ग्रेड हासिल गरेका छन्।१६ जना नन-ग्रेडेड भए पनि अधिकांशले ग्रेड वृद्धि परीक्षामार्फत पास गर्ने सम्भावना रहेको प्रधानाध्यापक अवस्थीले बताएका छन्।
निजी विद्यालयसँग प्रतिस्पर्धा गर्दै उत्कृष्टताको बाटोमा
विसं २०१७ मा स्थापना भएको त्रिभुवन मावि २०६६ सालदेखि उल्लेखनीय सुधारको बाटोमा लागेको हो। २०६६ बैशाखदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका अवस्थीको नेतृत्वमा विद्यालयले भौतिक, आर्थिक र शैक्षिक सुधारमा व्यापक फड्को मारेको छ।
विद्यालय अंग्रेजी र नेपाली दुबै माध्यममा अध्यापन गर्दै आएको छ, र कक्षा ८ देखि एसईईसम्मको परीक्षामा विद्यार्थीहरू उत्तिकै राम्रो नतिजा ल्याउन सफल भएका छन्।
२०८२ को एसईईमा अझ राम्रो नतिजाको लक्ष्य
“हामी ढुक्क भएर बसेका छैनौँ,” प्रधानाध्यापक अवस्थी भन्छन्, “२०८२ को एसईईमा अझ राम्रो नतिजा ल्याउने लक्ष्यसाथ काम गरिरहेका छौँ।” विद्यालयमा हाल विद्यार्थीलाई निजी विद्यालय सरहको अध्यापन दिने प्रयास भइरहेको र समग्र शैक्षिक वातावरण सुधारमा सबैले प्रतिवद्धता जनाएका छन्।
“सहकार्य बिना सुधार सम्भव छैन”
विद्यालयको दीर्घकालीन सुधारका लागि शिक्षक, अभिभावक, व्यवस्थापन समिति र स्थानीय सरकारबीच समन्वय अपरिहार्य भएको अवस्थीको भनाइ छ। "शिक्षकको प्रतिबद्धता, अभिभावक र विद्यार्थीको सहभागिता तथा नगरपालिकाको मार्गदर्शनले मात्र सामुदायिक विद्यालयले निजी विद्यालय सरह प्रतिस्पर्धा गर्न सक्छन्," उनले थपे।








प्रतिक्रिया दिनुहोस