अत्तरिया: जेनजी आन्दोलनमा सुदूरपश्चिम घर भएका ९ युवकले ज्यान गुमाएका छन्। आन्दोलनमा ज्यान गुमाउने युवाहरू देशको भविष्यको चिन्ता बोकेर होमिएका थिए, जसमध्ये केही विद्यार्थी, केही विदेशिने तयारीमा थिए भने केही प्रहरी थिए।
आन्दोलनकारीहरूको मृत्युपछि, नयाँ सरकार गठन र चुनावको मिति घोषणा भएको छ, जसमा जेनजी समूहले सहिदहरूको सपना पूरा गर्न आह्वान गरेको छ।
आन्दोलनका क्रममा सुदूरपश्चिमका ९ युवाले प्राण उत्सर्ग गरेका छन्। यसरी ज्यान गुमाउनेहरूमा ८ जना आन्दोलनकारी र एक जना प्रहरी छन्। कोही पढाइको सिँढी चढ्दै थिए। कोही विदेश गएर परिवारको पेट पाल्ने अन्तिम तयारीमा थिए। कोही देशको सेवामै समर्पित थिए। आन्दोलनको भिड, अश्रुग्याँसको धुवाँ, लाठी र गोलीको वर्षाबिच उनीहरूले देखेका सपनाहरू पनि छिन्नभिन्न भए। उनीहरूको निधनपछि ६ परिवारको आशाको दियो सधैँका लागि निभेको छ।
भीमबहादुर धामी (३०), बझाङ
दुर्गाथली गाउँपालिका–१ का धामी काठमाडौँमा डेरा गरी बस्दै आएका थिए। राजधानीको महँगीमा संघर्ष गर्दै सानोतिनो काम गरेर गुजारा चलाइरहेका उनी देशको अवस्था सुधारिए आफ्नै गाउँ फर्किने सपना देख्थे। एक वर्षअघि उनको विवाह भएको थियो।
धामीलाई हालैमात्र पुत्र लाभ भएको थियो। काठमाडौँको कीर्तिपुरमा आफैँ गाई पालन गरेर डेरी सञ्चालन गर्दै परिवारसँगै बस्दै आएका उनी आन्दोलनमा गोली लागेर सधैँका लागि ढले।
सुवास बोहरा (२३), बझाङ
खप्तड छान्ना गाउँपालिकाका सुवास जापानी भाषा सिक्दै थिए। त्यहाँ गएर पसिना बगाएर पैसा कमाउने र आफ्नो परिवारलाई सुख दिने उनको सपना थियो। काठमाडौँमा उनीसँगै उनका भाइ पनि बस्दै आएका थिए। भाइ कक्षा ९ मा पढ्छन्। सुवासका बुवा पहिले नै बेपत्ता भएका थिए भने आमा भारतको बैंगलोरमा मजदुरी गरेर छोराहरूको पढाइ खर्च जुटाइरहेकी थिइन्। सुवासको मृत्युले त्यो दुःखमा बाँचिरहेकी आमा र सानो भाइको बाँच्ने आधार नै भत्काइदिएको छ।
अनोज बुढा (२३), बाजुरा
बाजुराको दुर्गम स्वामीकार्तिक खापर गाउँपालिका–२, कोल्टीबाट ठुला सपना बोकेर काठमाडौँ पुगेका अनोज प्लस टु पढ्दै थिए। आफन्तको घरमा बसेर पढ्दै गर्दा उनले देशको राजनीतिलाई नजिकबाट नियालिरहेका थिए। आन्दोलनको पहिलो दिनदेखि नै सम्पर्कविहीन भएका उनको खोजीमा भौँतारिएका परिवारले अन्त्यमा उनको मृत शरीर अस्पतालमा भेट्टाए।
गौरव जोशी (२६), धनगढी
गोली लाग्नुभन्दा अगाडि गौरव जोशीले दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल छ। उनले भनेका थिए, ‘यो आज एकदिने आन्दोलन होइन, जहिलेसम्म हाम्रो यो माग पूरा हुँदैन, हामी सडकमा आउँछौँ। हाम्रो आफ्नो आवाज उठाउँछौँ। यो जो–जो साथीहरूलाई घाइते गरेको छ, त्यो कृपया बन्द गरियोस्। केपी शर्मा ओलीलाई म आग्रह गर्न चाहन्छु, यस्तो पावर सही युज गर्न पाउँदैन। इन्टरनेसनल ल ९कानुन०मा पनि छैन। स्टुडेन्टलाई गोली हान्ने ल छैन अहिलेसम्म।’
धनगढी उपमहानगरपालिका–१ का गौरवको जापान जाने तयारी लगभग पूरा भइसकेको थियो। देशमा भविष्य नदेखेपछि बिदेसिन बाध्य परिस्थितिमा पुगेका उनी परिवर्तनको झिल्को देखेर आन्दोलनमा सामेल भएका थिए, तर त्यही झिल्कोले उनको जीवनको दियो निभाइदियो। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा उनको निधन भयो।
दीपक साउद (२०), बैतडी
शिवनाथ गाउँपालिका–२ का दीपक कक्षा १२ मा पढ्दै थिए। कलिलो उमेरमै देशको अवस्थाबारे चिन्तित उनी परिवर्तनको आशामा आन्दोलनमा होमिएका थिए। साथीहरूसँगै सडकमा नारा लगाउँदा उनलाई गोली लाग्यो। उपचारकै क्रममा भदौ २७ गते बेलुका ८ बजे ट्रमा सेन्टरमा उनको ज्यान गयो।
उत्तम थापा, दार्चुला
नेपाल प्रहरीमा कार्यरत एक कर्तव्यनिष्ठ जवान थिए थापा। आन्दोलनमा सहभागी आफ्नै पुस्ताका युवाहरूको भिड नियन्त्रण गर्न उनी खटिएका थिए। कर्तव्य पालनाको क्रममा भएको निर्घात कुटपिटले उनको ज्यान लियो। देशको सेवा गर्दागर्दै ज्यान गुमाएका उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो।
आन्दोलनमा सुदूरपश्चिमका हजारौँ युवा सक्रिय सहभागी थिए। तीमध्ये कैयौँ घाइते भएका छन्, जो काठमाडौँका विभिन्न अस्पतालका बेडमा छटपटाइरहेका छन्। उनीहरूको शरीरमा चोट छ, तर मनमा अझै पनि परिवर्तनको आगो निभेको छैन।
आन्दोलनको सुदूरपश्चिमबाट नेतृत्व गरिरहेका जेनजी समूहका लोकेन्द्र साउद अहिले घाइतेहरूको रेखदेख र उपचारमा खटिएका छन्। ‘हामीले शान्तिपूर्ण आन्दोलन चाहेका थियौँ, तर राज्यले हामीमाथि दमन गर्यो। उनीहरूले देखेको नयाँ नेपालको सपना पूरा गर्नु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।’
नयाँ सरकार गठनसँगै चुनावको मिति घोषणा भइसकेको छ। यो चुनाव सरकार बनाउने प्रक्रियामात्र हुनेछैन, यो जेनजी आन्दोलनका सहिदहरूको बलिदानको सम्मान गर्ने अवसर पनि हुने साउदको भनाइ छ।
उनले प्रश्न गरे, ‘अब निर्णय जनताको हातमा छ। के हामी फेरि पनि पुरानै अनुहार र विचारलाई दोहोर्याउने–जसले देशलाई यो अवस्थामा ल्याइपुर्यायो? वा ती सहिदहरूको सपना पूरा गर्न नयाँ, इमानदार र सक्षम नेतृत्वलाई मौका दिने?’अब हरेक भोटले सहिदका रगतको सम्मान गर्नुपर्नेमा साउदले जोड दिए।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ सुपाना गाउँका २१ वर्षीय योजन बुढाको पनि निधन भएको छ। उनी काठमाडौँको पशुपति क्याम्पसमा स्नातक अध्ययनरत थिए। काठमाडौँमा डेरा गरी बस्ने योजनका बुवा भारतमा मौसमी मजदुरी गर्दै आएका थिए। प्रदर्शनका क्रममा बेपत्ता भएका योजनलाई टाउकामा गहिरो घाउ र एउटा हात भाँचिएको अवस्थामा आफन्तले अस्पतालमा शव फेला पारेका थिए।
प्रहरीको गोली लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीका ४८ वर्षीय नीरज पन्तको पनि निधन भएको छ। उनी श्रीमतीसँगै काठमाडौँको महाराजगन्जमा आयुर्वेदिक औषधि व्यवसाय गर्थे। २५ वर्षअघि काठमाडौँ छिरेका उनी उतै व्यवसाय गरेर बस्दै आएका थिए।
बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा रहेका भाग्न खोज्दा गोली लागेर अछामका २१ वर्षका उमेश विष्ट, कैलालीका १९ वर्षका जगत देउवाको निधन भएको छ। उनीहरू जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमा बन्दी थिए।








प्रतिक्रिया दिनुहोस