अत्तरिया: नेकपा एमालेका सचिव लेखराज भट्टले आफ्नो पुख्र्यौली घर आगलागीबाट ध्वस्त पारिएको बताएका छन्। मंगलबार कैलालीको अत्तरियास्थित घरको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेश इञ्चार्जसमेत रहेका भट्टले ९ देखि १० करोडको भौतिक क्षति भएको बताएका हुन।
‘यो घरमा युद्धका इतिहास, दुर्लभ किताब, बचपनका फोटोहरू थिए। ती सबै नष्ट भए। विश्वमै कहीं नभएका किताब पनि नष्ट भए, जसको मूल्य नै छैन, ’ भट्टले भने।आन्दोलनको नाममा घरमा रहेको कुकुरलाई समेत जिउँदै जलाइएको बताए।
‘मैले भ्रष्टाचार वा उत्पीडन गरेको प्रमाणित भए सजाय भोग्न तयार छु। तर आगो यसै क्षेत्रका मानिसले लगाएका हुन्। बाहिर वा भारतबाट कोही आएका होइनन्, ’ उनले भने, ‘चिनेको भए पनि अहिले नाम भन्नु उचित ठान्दिनँ।’
भट्टका अनुसार घर बुवाको पैत्रिक सम्पत्तिबाट जोडिएको र आमा त्यहाँ बस्दै आएकी थिइन्। घर स्व। भाइबुहारीले निर्माण गरेको भन्दै उनले दुई महिनाअघि मात्र दुई कठ्ठा जग्गा बिक्री गरेर ८० लाखभन्दा बढी ऋण तिर्नु परेको समेत सुनाए।
‘मैले एक पैसा पनि भ्रष्टाचार गरेको छैन,’ उनले भने। भट्टले आन्दोलनमा संलग्न भएकामध्ये माग पूरा गर्न सडकमा आएका र तोडफोड–विध्वंस मच्चाउन आएका छुट्याएर कारबाही गर्नुपर्नेमा जोड दिए।
२४ गते लेखराज भट्टको श्रीमती निर्मला भट्ट घरमै थिइन्। काठमाडौंमा झालनाथ खनालको श्रीमतीमाथि आगो लगाइएको भन्ने थाहा पाएका केही युवाहरूले उनलाई त्यहाँबाट जोडिन सुझाव दिए। तर, उनी त्यही हुँदाहुँदै हुल आयो।
‘म गोठमा लुके। मलाई कसैले चिन्नु भएको थिएन। सिसी क्यामेरा सुरुमा फोडे, अनि जलाउन थालेका थिए। उनले भनिन्, ‘ उहाँ लेखराज भट्टलाई सामन्त भन्दै गाली गरिरहेका थिए। मेरो मरेको सासूलाई पनि गाली गर्ने अधिकार कसले दियो छानबिन गरेर कारबाही गर्नुहोला। ’आन्दोलनकारीले जलाएको घर आफ्नो पुर्ख्यौली सम्पत्ति रहेको उनले बताइन्।








प्रतिक्रिया दिनुहोस