धनगढी: विजयादशमीको टीका ग्रहण गर्ने आजको शुभ दिनमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ।
प्रदेशका कैलाली र कञ्चनपुरलगायत जिल्लाहरूमा बिहानैदेखि पानी परिरहेको छ, जसले गर्दा दसैँको टीका लगाउन आफन्तजन तथा मान्यजनकोमा जाने आउने कार्यमा केही असर पर्ने पनि देखिन्छ।
मौसम विज्ञान विभागले यसअघि नै दसैँको टीकाको दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको थियो, सोही पूर्वानुमान अनुसार आज बिहानैदेखि यस क्षेत्रमा वर्षा भएको हो।
यो बेमौसमी वर्षाले किसानहरूमा भने चिन्ता थपिदिएको छ। धान भित्र्याउने समयमा भइरहेको वर्षा नरोकिए धानबालीमा क्षति पुग्ने भन्दै किसानहरू चिन्तित बनेका हुन्। धेरैजसो किसानले धान काटेर खेतमै कुन्यू लगाएको अवस्था छ।
काटेर सुकाउन राखेको धान पानीले भिज्दा पराल कुहिने र धानको गुणस्तर घट्ने जोखिम बढेको छ।
पानीबाट धान जोगाउन किसानहरूले काटेर राखेको धानको कुन्यूलाई त्रिपालले छोपेर राखेका छन्। लगातार झरी परे धानबालीमा नोक्सानी पुर्याउन सक्ने त्रासमा किसानहरू छन्।
सुदूरपश्चिम प्रदेश, विशेषगरी कैलाली र कञ्चनपुर, धान उत्पादनको मुख्य क्षेत्र मानिन्छ। केही वर्ष अगाडि धान भित्र्याउने समयमा भएको वर्षाले किसानले ठुलो क्षति व्यहोरेका थिए।








प्रतिक्रिया दिनुहोस