अत्तरिया: डडेल्धुरामा वनका अध्यक्षविरुद्ध १८ लाख बिगो दाबीसहित भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। जिल्लाको आलिताल गाउँपालिका–३ मा रहेको कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सामुदायिक वनको कोषको १८ लाखभन्दा बढी रकम हिनामिना गरेको पाइएपछि अख्तियारले अध्यक्ष सर्वजित मडैविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
मडैमाथि किर्ते गरेर सामुदायिक वनको रकम दुरुपयोग गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा उनले २०७८ मंसिर १० गते समितिको बैठक माइन्युटिङ्ग नक्कली तयार गरी सचिव र कोषाध्यक्षको जानकारी बिना किर्ते हस्ताक्षर गरेर चेकबाट रकम निकालेको प्रमाण फेला परेपछि मुद्दा अघि बढाइएको हो।
मडैले १६ मंसिर २०७८ देखि २५ वैशाख २०७९ सम्म ७ वटा चेकमार्फत २० लाख १५ हजार रुपैयाँ आफ्नै नाममा विभिन्न मितिमा निकालेको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। समितिले उक्त कुरा थाहा पाएपछि मडैले २ लाख रुपैयाँ मात्र फिर्ता गरेका थिए।
उनले बैँकका डडेल्धुरा, धनगढी, अत्तरिया, चौमाला र महेन्द्रनगर शाखाबाट निकालेका थिए। आयोगको अनुसन्धानमा समितिले गरेको निर्णय र राष्ट्रिय वाणिज्य बैंक डडेल्धुरा शाखामा दर्ता भएको निर्णयपत्र फरक–फरक पाइएपछि मडैले किर्ते निर्णय बनाई रकम निकालेको पुष्टि भएको हो।
फरेन्सिक परीक्षण, स्थलगत मुचुल्का र डिभिजन वन कार्यालय डडेल्धुराको प्रतिवेदनका आधारमा मडैको किर्ते सहिछाप र नक्कली कागजात तयार गरी रकम हिनामिना गरेको तथ्य पुष्टि भएको आयोगले जनाएको छ।
आयोगले मडैको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर ठहर गर्दै बिगो रकम १८ लाख १५ हजार कायम गरेको छ । सोही ऐनको दफा ३ (१) को देहाय (च) तथा (घ) अनुसार कैद र जरिवाना सजायको माग गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर अख्तियार दुरुपयोग अनुसन्धान आयाेगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।








प्रतिक्रिया दिनुहोस