अत्तरिया: काठमाडौँबाट धनगढीका लागि छुटेको बस दुर्घटना भएको छ। सो दुर्घटनामा एक जनाको मृत्यु भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बस दुर्घटना भएको हो।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार बुधवार राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो।
दुर्घटनामा करिब ५० वर्षका एक पुरुष पैदलयात्रीको मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए। बसमा सवार पाँच जना घाइते भएका छन्। घाइते हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका-७ का ४३ वर्षीय जग्गुराम दगौरा, काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-६ का ४५ वर्षीय टेकेन्द्र खत्री रहेका छन्।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-१० का २४ वर्षीय भरत नाथ, लालझारी गाउँपालिका-१ का ३६ वर्षीय भिमबहादुर चौधरी र १४ वर्षीय रितु लोहार रहेको प्रहरीले जनाएको छ। बसमा करिब ३५ जना यात्रु सवार थिए। बस चालकलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक घिमिरेले बताए।








प्रतिक्रिया दिनुहोस