अत्तरियाः कैलालीको अत्तरियामा रहेको दुग्ध विकास आयोजना (डीडीसी) धनगढी सर्ने सुनिश्चित भएको छ । डीडीसीका लागि आवश्यक पर्ने जमिन अत्तरियामा उपलब्ध नभएको बहानामा आयोजनाको कारखाना नै धनगढी सार्ने तयारी थालिएको हो ।
दुग्ध विकास संस्थान गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियाबाट धनगढी दुग्ध वितरण आयोजना सार्ने निर्णय भने यतिबेला विवादित नै छ । २०६७ सालमा स्थापना गरिएको दुग्ध वितरण आयोजनाको कार्यालय र प्रशोधन कारखाना धनगढीमा सार्ने निर्णय भएपछि स्थानीय आन्दोलित मात्र बनेका छैनन् दुग्ध विकास संस्थानको कार्यालयमा तालाबन्दी नै गरेका छन् ।
आन्दोलित स्थानीयाले जेठ ८ गतेदेखि आयोजना कार्यालयमा तालाबन्दी गरेका छन् । दुग्ध विकास संस्थान संरक्षण संघर्ष समितिका संयोजक लोकराज पाण्डेसहितले तालाबन्दी गरेका हुन् ।
धनगढी दुग्ध वितरण आयोजनाका प्रमुख निरञ्जन भट्टराइले कार्यालयमा लामो समयदेखिको तालाबन्दीका कारण किसानलाई दुधको भुक्तानी दिन समस्या भइरहेको बताए । अत्तरियामा रहेको कारखाना र कार्यालय धनगढीमा सार्न २०८१ माघमै सम्झौता भएको खुलेको छ । ‘दुग्ध विकास संस्थान र धनगढी उपमहानगरपालिकाबीच भएको सम्झौताअनुसार धनगढी–१५ मा निर्माण भएको जडीबुटी प्रशोधन केन्द्रमा कार्यालय र कारखाना स्थापनाको काम अगाडि बढिसकेको छ । धनगढी– १५ मा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनका लागि २ करोड ९५ लाखमा २०७५ सालमै भवन निर्माणको काम सम्पन्न भइसकेको थियो । तर, जडीबुटी प्रशोधन केन्द्र सञ्चालन नभएपछि डीडीसीको अत्तरियास्थित कार्यालय सञ्चालन गर्न सम्झौता गरिएको हो ।
अत्तरियामा कार्यालय, निवास र कारखाना सञ्चालनका लागि भाडाका घर लिइएको छ । सो अयोजनाले मासिक ४० हजार भाडा तिर्दै आएको छ । दुग्ध प्रशोधन कारखानाको स्थायित्व र विस्तारका लागि जग्गाको खोजी गर्दा धनगढीमा तयारी अवस्थाको भौतिक संरचनासमेत पाइएपछि सार्ने प्रक्रिया अगाडि बढेको हो । डीडीसीले २५ वर्षका लागि जडीबुटी प्रशोधन केन्द्र प्रयोग गर्ने सम्झौता भएको छ ।
अत्तरियामै आयोजनाको कार्यालय र कारखाना स्थापनाका लागि वर्षाैंदेखि जग्गा खोजी भइरहेको थियो । यसका लागि लगातार तीन वर्षदेखि एक करोडका दरले बजेट समेत विनियोजन हुँदै आएको थियो ।
गोदावरी नगरपालिकाकाले अत्तरियामै डीडीसी रहनुपर्ने भन्दै केही समययता पहल गरेको भए पनि संस्थान धनगढी सर्ने सुनिश्चित भएको कर्मचारी स्रोतले बताएको छ । तर कृषि उपज थोक बजार समितिले १२ वर्ष अघि नै डीडीसीका लागि खोजी गरेको जग्गा भने अतिक्रमणमा परेको छ ।
कृषि उपज थोक बजार समितिले हाल गोदावरी नगरपालिका वडा नम्बर १ को कार्यालय रहेको क्षेत्रको जग्गा डीडीसीलाई उपलब्ध गराउने गरी १२ वर्ष अघि नै प्रक्रिया अघि बढाएको थियो । कृषि उपज थोक बजारका अध्यक्ष नन्दलाल भट्टले २०६९ सालमै डीडीसीलाई जग्गा उपलब्ध गर्न जग्गा खोजी गरी फाइल अगाडि बढाइएको बताए ।








प्रतिक्रिया दिनुहोस