गोल्छा अर्गनाइजेशनका संस्थापक रामलाल गोल्छाका दुई छोरा हुलासचन्द र हंसराज हुन् । हुलासचन्द गोल्छाका माइला छोरा हुन् सुरेन्द्र गोल्छा । ६१ वर्षीय गोल्छा हुलास खाद्यान्न तथा हुलास मोटर्सका सञ्चालक हुन् । हुलास मोटर्सले तत्कालीन समयमा उत्पादन गरेको ‘मुस्ताङ म्याक्स’ले लोकप्रियता पाउँदै गर्दा छोटो समयमै बन्द हुन पुग्यो । यद्यपि यो गाडीको चर्चा अहिले पनि हुने गर्छ । प्रस्तुत छ, मुलुकको पछिल्लो आर्थिक अवस्था लगायत विषयमा गोल्छासँग गरिएको कुराकानीको सार:
हामी एकताका कृषिमा निर्यात गर्ने अवस्थामा थियौं । तर अहिले आयात गरिरहेका छौं । कृषिमा आत्मनिर्भर हुन के गर्नुपर्छ ?
पहिलो कुरा त हामी कुन बालीमा आत्मनिर्भर बन्ने भन्ने अध्ययन नै छैन । पहिले जसरी परम्परागत खेती गरियो, अहिले पनि त्यही अवस्था छ । कृषिलाई निर्वाहमुखीबाट व्यावसायिकीकरण गर्न सरकारसँग स्पष्ट नीति चाहिन्छ । कृषि प्राविधिक, कृषि योग्य जमीन, माटोको उर्वरा शक्ति र बीउबिजनको बारेमा किसानलाई जानकारी गराउनुपर्छ । उत्पादन बजारसम्म पुर्याउन सहज बाटोको विकास हुनुपर्छ । सरकारले अनुदान दिनुपर्छ ।
उत्पादन लागत घटाउन अटोमेशन अत्यावश्यक छ । मलको व्यवस्था हुनुपर्छ । ६ वर्षदेखि मल ल्याउन सकिरहेका छैनौं । हरेक सिजनमा ‘मल, मल’ भनेर कराउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । एकीकृत खेती प्रणालीको विकास गर्नुपर्छ । जमीनको वर्गीकरण गरिनुपर्छ । हजारौं बिघा जमीन जोडेर सहकारी मोडलबाट वा सामूहिक ढंगले खेती गर्नुपर्छ । त्यसले उत्पादन पनि बढाउन सकिन्छ । लागत पनि घट्छ ।
सीमापारिबाट चोरी पैठारी भएर आउने खाद्यान्नले यहाँका उद्योगलाई कत्तिको असर गर्छ ?
चामल निर्बाध भित्रँदा राइस मिलले उत्पादन गर्न सक्दैन । भुसको उत्पादन हुँदैन । त्यसैले त्यो आयात गर्नुपर्छ । कनिका उत्पादन हुँदैन, आयात नै गर्नुपर्छ । रोजगारी कटौती गर्नुपर्ने अवस्था सृजना हुन्छ । यहाँको उत्पादन जति विक्री हुनुपर्ने हो, त्यति विक्री हुँदैन । यसले माग र आपूर्तिको शृंखला नै बिगार्छ । त्यसैले नेपालका खाद्यान्न उद्योग बचाउन सीमामा कडाइ गर्नैपर्छ ।
कतिपय अवस्थामा भने सीमामा कडाइ गर्ने कि नगर्ने भन्ने द्विविधा हुन्छ । जस्तै, भारतीय नाकाबन्दीका बेला पेट्रोलियम पदार्थ तस्करी भएर आयो । त्यो प्रक्रिया गलत भए पनि त्यसले मुलुकको पेट्रोलियम पदार्थको माग धानेको थियो । त्यस्तै किसिमले कतिपय तस्करीले मुलुकलाई फाइदा नै पुगेको देखिन्छ । तर राजस्व मर्ने भएकाले त्यसलाई वैध माध्यमबाट आयात गरिनुपर्छ ।
हुलास खाद्यान्नले के के उत्पादन गर्छ ?
हुलास खाद्यान्नले पीठो, चामल, दाल, च्यूरा लगायत खाद्यान्न उत्पादन गर्छ । अब नयाँ प्लान्टबाट पनि उत्पादन हुन्छ । अब हामी मसला पनि उत्पादन गर्छौं । नयाँ प्लान्ट आएपछि गुणस्तर बढ्छ र केही प्रडक्ट समेत थप्दै छौं । ८० करोड रुपैयाँ लागतको नयाँ प्लान्ट धनुषाको गोदारमा छ । लालबन्दीमा पुरानो प्लान्ट छ ।
औद्योगिक वातावरण निर्माणका लागि सरकारले के गर्नुपर्छ ?
राजनीतिक स्थिरता भयो भने नयाँ लगानी आउन सक्छ । औद्योगिक पूर्वाधारको विकास, नीति स्थिर हुनुपर्छ । सडक, विद्युत्, खानेपानीको व्यवस्था राम्रो हुनुपर्छ । अनुसन्धान केन्द्रहरू हुनुपर्छ । स्टार्टअप र नवप्रवर्तनमा लगानी गर्ने वातावरण बनाउनुपर्छ ।
तल्लो स्तरको आर्थिक अवस्था नसुध्रिएसम्म माथिल्लो तहको अर्थतन्त्र सुध्रन सक्दैन । त्यसैले तल्लो स्तरको अर्थतन्त्रमा सुधार आवश्यक छ । आन्तरिक बजारको सुनिश्चितता र अन्तरराष्ट्रिय बजारको खोजी पनि राज्यले गरिदिनुपर्छ । निर्यातमुखी उद्योगमा ध्यान दिनुपर्छ । नीतिगत प्रोत्साहन र सुविधामार्फत निर्यातमूलक उद्योगमा लगानी आकर्षण गर्नुपर्छ । आयात रोक्न सक्नु पनि निर्यात गर्नु सरह हो ।
पछिल्लो समय उद्योग व्यवसायमा नयाँ पुस्ता आएको देखिँदैन, बाउबाजेले सञ्चालन गरेकै उद्योगमा सहयोग मात्र गरिरहेको देखिन्छ । यसबारे के भन्नुहुन्छ ?
नयाँ उद्योगधन्दा स्थापना नहुनुमा सबैभन्दा ठूलो कारण राजनीतिक अस्थिरता हो । यस्तै सरकारको नीति मन्त्री परिवर्तन भएपिच्छे परिवर्तन हुन्छ । लगानीमैत्री वातावरणको कमी छ । नयाँ पुस्ताले उत्साहित भएर काम गर्ने वातावरण नै छैन । यहाँ उद्योग सञ्चालन गर्दा उत्साहित हुने अवस्था छैन, बरु किन खोलेछु भनेर पछुताउनुपर्ने हुन्छ ।








प्रतिक्रिया दिनुहोस