अत्तरिया: सुदूरपश्चिम प्रदेशमा प्रहरीको भूमिका कमजोर देखिदै आएको छ । विशेष गरी ठुला अपराधका घटनामा यहाँको प्रहरी प्रशासनले सफलता प्राप्त गर्न सकिरहेको छैन् । एसपी, एसएसपी र डिआइजीसम्मै फेरिनेक्रम बढ्दै गएको अवस्थामा समेत ठुला प्रकृतिका अपराधमा ठुलो सफलता प्रहरीले प्राप्त गर्न सकेको छैन् ।
सुदूरपश्चिम प्रदेशमा वर्षौं अघि भएका घटनाहरू अहिले पनि रहस्यमै छन् । २०७० मंसिर २६ गते दिउँसो कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैंकको शाखाबाट नेपाल राष्ट्र बैंक धनगढीमा जम्मा गर्न लगिएको दुई करोड ३० लाख ६० हजार रुपैयाँ र दुई सय अमेरिकी डलर पूर्व–पश्चिम राजमार्गको मालाखेती जंगलमा लुटियो। यो घटना भएको १२ वर्ष पुग्नै लाग्यो, त्यसको दोषी अझै पत्ता लाग्न सकेको छैन । यो विषयमा पछिल्लो समय प्रदेश प्रहरीले खोजीनीति नै गर्न छोडेको सरोकारवाला बताउँछन् ।
कैलालीमा मात्र प्रहरीले सल्टाउन नसकेका आपराधिक घटनाको सुची निकै लामो छ । २०७४ जेठ ७ गते राति धनगढी उपमहानगरपालिका–७, छात्रावास टोलका ७२ वर्षीय बद्रीप्रसाद जोशी र उनकी ६५ वर्षीया श्रीमती कुन्तादेवी जोशीको हत्या भयो। त्यो घटना अहिले पनि रहस्यमै छ । धनगढीमै २०६९ मंसिर २५ गते हत्या गरिएका ओमप्रकाश पन्तका परिवारले पनि अझै न्याय पाएको छैन ।
नयाँ डिआइजी आउने वित्तिकै दोषी पत्ता लाग्छ की भनेर मृतका परिवार केहि वर्ष अघिसम्म आशावादी हुने गरेको भए पनि पछिल्लो समय निराशा मात्र बोकेर दिन बिताउन बाध्य बनेको छ । त्यस्तै अत्तरियास्थित खानेपानी ट्यांकी नजिक भएको बझाङका शिक्षकको हत्या पनि रहस्यमै छ । अत्तरियाकै गोदावरी पुल नजिक एक महिलाको जबरजस्ती करणीपछि बिभत्स हत्या भएको घटनामा पनि प्रहरीले सफलता प्राप्त गर्न सकेको छैन् ।
लोक सेवा आयोगका तत्कालीन क्षेत्रीय प्रमुख नवराज चौलागाई बेपत्ता भएको वर्षौंसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन । धनगढीको क्याम्पस रोडमा डेरी व्यवसाय गर्ने दीपक खड्का परिवारसहित बेपत्ता भएको लामो समय बित्यो । खड्का परिवारको अवस्था पनि हालसम्म प्रहरीले थाहा पाउन सकेको छैन । २०७५ फागुन २८ गते राति घोडाघोडी नगरपालिकाका तत्कालिन नगरप्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भयो । तर आक्रमणकारीबारे प्रहरी बेखबर जस्तै छ ।
कैलालीको अत्तरियामा गोलि प्रहार गरी लुटपाट गर्ने अझै पक्राउ पर्न सकेका छैनन् । २०७९ पौष ३ गते सशस्त्र बाहिनी अगाडी गोली प्रहार गरी लुटपाट गरेर फरार भएकाहरुको अझै अत्तोपत्तो छैन् । पौष ३ गते साँझ मोटरसाइकलमा आएका दुई जनाले अत्तरियाका सुन व्यवसायी विकास सुनारमाथि गोली प्रहार गरी लुटपाट गरेका थिए । २०७५ साउन १० गते गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय आजका मितिसम्म आइपुग्दा अपराधीको पहिचानसम्म भएको छैन ।
| 513 |








प्रतिक्रिया दिनुहोस