अत्तरिया: कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी ३२ वर्षीया कमला आउजी दमाईको शुक्रबार राति छाउगोठमा सर्पले डस्दा शनिबार साँझ मृत्यु भयो । यस प्रकृतिको घटना नयाँ भने होइन । २०६३ यता छाउगोठका घटनामा अछाममा १४ महिला तथा किशोरी, डोटीमा २, बाजुरामा ३ र हालै कञ्चनपुरमा १ गरी सुदूरपश्चिममा २० जनाको मृत्यु भएको अनौपचारिक तथ्यांक छ ।
सुदूरपश्चिममा धेरै ठाउँका महिलाहरू महिनावारी भएका बेलामा आफ्नै वा आफन्तरछिमेकीका छाउगोठमा बस्न जान्छन् । मुख्यतः महिनावारीका बेलामा छाउगोठमा नबसे देउता रिसाउँछन् भन्ने अन्धविश्वास व्याप्त छ । कतिपय व्यक्तिको शारीरिक समस्यालाई समेत छाउप्रथासँग जोडेर बुझ्ने गरिएको हुन्छ । जसले गर्दा किशोरी तथा महिलाले घरभन्दा टाढा अव्यवस्थित र साँघुरो छाउगोठमा असुरक्षित महसुस गरेरै रात बिताउन बाध्य छन् ।
छाउगोठमा बसेका बेला जंगली जनावरको आक्रमण, सर्पले टोकेर, पहिरो खसेर, जाडो सहन नसकेर, धूवाँले निसासिएर मृत्यु हुने गरेको छ । त्यस्तै बलात्कृतसमेत हुने गरेका छन् ।
छाउगोठमै सर्पले डसेर कमला आउजी दमाईको मृत्यु भएको घटना पछिल्लो सन्दर्भ मात्र हो । चार वर्षअघि अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २० वर्षीया पार्वती बुढा रावतको छाउगोठमा निसासिएर मृत्यु भएको थियो ।
२ असार २०८१ मा अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक १५ वर्षीया किशोरी छाउगोठमा बलात्कृत भएकी थिइन् । २०८१ माघ १३ राति कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेकी ४० वर्षीया सरस्वती विकलाई छाउगोठमा सुतिरहेकै बेलामा चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।
छाउगोठका लागि कैयौं गाउँमा एक घर, एक छाउगोठ बनाइएको हुन्छ । दैनिक प्रयोगमा नआउने भएकाले त्यसको नियमित मर्मत सम्भार हुँदैन ।
सर्प वा अन्य विषालु जीवको आगमनबारे आकलन पनि हुँदैन । छाउगोठलाई सुरक्षित बनाएर वा नियमित मर्मत सम्भार गरेर समस्या समाधान हुने होइन । किनकि, महिनावारीलाई महिलाको शरीरमा हुने स्वाभाविक शारीरिक चक्रका रूपमा नलिएर पाप वा अस्वाभाविक अवस्थाका रूपमा बुझ्ने र छाउगोठमा पुग्न बाध्य बनाउने चेतना रहुन्जेल महिलाले मृत्यु वा हिंसा भोग्न छाउगोठसम्म पुग्नै पर्दैन, यत्रतत्र हुनेछ । घटना छाउगोठमा घटे पनि त्यो अन्धविश्वासी मानसिकताको उपज हो । त्यसैले छाउगोठमा पुग्ने वा पुर्याउने चेतनाकै सुरुमा मर्मत सम्भार आवश्यक छ ।
छाउपडी प्रथा अन्त्यका लागि दुई किसिमको प्रयत्न आवश्यक छ । पहिलो, बाध्यात्मक । स्थानीय प्रशासन, पालिका तथा वडा, स्थानीय संघसंस्थाको पहलकदमीमा छाउगोठ भत्काउने अभियान चलाउन सकिन्छ । छाउगोठमा बस्ने वा बस्न बाध्य पार्नेहरूलाई कानुनी कारबाही गर्न सकिन्छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ ९३० मा महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन भनिएको छ । उपदफा ९४० मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ ।
कारबाहीका लागि उपलब्ध कानुनी आधारको उपयोग गर्न सकिन्छ । छाउगोठमा बस्न बाध्य पार्नेहरू सामान्यतयाः परिवारकै सदस्य, आफन्त वा छिमेकी हुने भएकाले उजुरी पर्ने वा कानुनी कारबाही चाहने किशोरी वा महिला कमै हुन्छन् । त्यसैले प्रहरीले स्वयं वा वैकल्पिक उपायबाट जानकारीमा लिएर घटनाबारे अनुसन्धान र अभियोजन गर्नुपर्छ ।








प्रतिक्रिया दिनुहोस