अत्तरियाः कञ्चनपुरमा पक्राउ पुर्जी भएर पनि अभियुक्त महिलालाई पक्राउ गर्न प्रहरीले नै आनाकानी गर्दै आएको खुलेको छ । जिल्ला अदालत कञ्चनपुरले पुनर्वास नगरपालिका–५ टिसियन चोककी गोमा क्षेत्रीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय हुँदै इलाका प्रहरी कार्यालय पुनर्वासलाई पत्राचार गरिएको भए पनि आरोपितलाई समात्न इलाका प्रहरी कार्यालय पुनर्वासले आनाकानी गर्दै आएको हो ।
आरोपित गोमा क्षेत्रीले कैलालीको घोडाघोडी नगरपालिका–९ फारम घर भएकी प्रकृति रावतबाट जमिन दिने भन्दै ७ लाख ४० हजार मागेकी थिइन । रावतले गत असोजमा सो रकम दिएको भएपनि जमिन नदिएपछि उनले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेकी थिइन ।
अदालतले पक्राउ पुर्जीको आदेश प्रहरीलाई दिएको भएपनि आरोपितलाई समात्न आनाकानी गर्ने काम हुँदै आएको पीडित रावतले बताइन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आरोपित गोमालाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय पुनर्वासलाई पत्राचार गरेको भए पनि सो कार्यालयले भने विभिन्न बाहना गरेर पक्राउ गर्न नमानेको पीडितको गुनासो छ ।
पीडित रावतले इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी इन्चार्ज महेशविक्रम शाहीले विभिन्न बाहना देखाएर पक्राउ गर्न नमानेको बताइन । ‘कहिले महिला प्रहरी नभएको कहिले गाडीमा तेल नभएको त कहिले आवश्यक जनशक्ति नभएको भन्दै आरोपितलाई समात्न आनाकानी गर्दै आएका छन् ।’
पक्राउ पुर्जी जारी भएको लामो समयसम्म आरोपितलाई पक्राउ गर्न प्रहरीले नै आनाकानी गरेपछि अहिले गोमा फरार भएकी छन । ‘म आफै प्रहरीको श्रीमती हो, मैले त न्याय पाइरहेकी छैन भने अरुको अवस्था कस्तो होला? प्रहरीलाई पक्राउ गर्न रोइकराई गर्दा पनि आरोपित प्रक्राउ नपरेपछि गोमा यतिबेला फरार छिन् ।
आरोपितलाई पक्राउ गर्न पीडित रावतले प्रहरीसँग गरेको हारगुहार र रोएको अडियो अभिलेख मिडियाले प्राप्त गरेको छ । यस विषयमा इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी इन्चार्ज महेशविक्रम शाहीले अभियुक्तलाई पक्राउ गर्न ताकेता गर्दै आएको दाबी गरेका छन् । उनले घटनाको प्रकृतिअनुसार अन्य घटनालाई पनि हेर्नुपर्ने भएकाले अभियुक्तलाई समात्न ढिलाई भएको स्वीकार गरेका छन् ।








प्रतिक्रिया दिनुहोस